TodayPati

मधेशमा ढल्यो जसपाको सरकार, सदनमै मुख्यमन्त्री सरोज यादव पदमुक्त

टुडेपाटी-
जनकपुरधाम, जेठ २३ गते ।

मधेशमा जसपा नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा विश्वास गुमाएका छन् । उनी पदमुक्त भएका छन् ।
मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ भने विपक्षमा भने ५३ मत परेको छ । प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । सरकार जोगाउन उनलाई ५४ मतको आवश्यक्ता थियो ।

सभामुख रामचन्द्र मण्डलले गरेको मत विभाजनको प्रक्रिया मार्फत प्रदेशसभा सदस्यहरुलाई पक्ष विपक्षमा मतदान गर्न लगाएका थिए ।

Sponsored

मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका गरी दुई सांसद अनुपस्थित थिए ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक÷एक सिट छ ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वाको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनु परेको छ ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । आज पाँचौपटक विश्वासको मत लिँदा मुख्यमन्त्री यादव पदमुक्त भएका हुन् ।

Sponsored

योसंगै मधेशसमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमत को नेतृत्वमा नयाँ सरकार बन्ने तयारी छ । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने करिब निश्चित छ । उनलाई मुख्यमन्त्री नियुक्त गर्न जनमत, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितले भोलि दावी प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारी गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *