TodayPati

मधेशमा साढे ६ वर्षपछि जसपा नेतृत्व ढल्दै, जनमतका महेश यादव मुख्यमन्त्री बन्दै

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ २३ गते ।

मधेशमा साढे ६ वर्षपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)को सरकार ढल्ने निश्चित भएको छ । मधेशमा जसपाको एकक्षत्र साढे ६ वर्षे सरकार पहिलो पटक ढल्न लागेको हो ।
गत वैशाख ३० गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएसपछि मुख्यमन्त्री सरोजकुमार यादवल अल्पमतमा परेका थिए ।

यधपी नेकपा एकीकृत समाजवादी सरकारबाट नबाहिरिँदा पुनः प्रतिपक्षी नेपाली काँग्रेस र लोसपालाई समेत साथमा लिएर विश्वासको मत लिएर सरकार टिकाइ राख्ने जसपाको हरसम्भव प्रयास थियो । मुख्यमन्त्री यादवले आज प्रदेशसभबाट विश्वासको मत लिने तयारीमा छन् । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

Sponsored

तर पूर्वसन्ध्यामा मंगलबार साँझ एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार ढल्ने निश्चित देखिन्छ । एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मंगलबार राजिनामा बुझाएका हुन् । संगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन् । अब मुख्यमन्त्री यादवले सदनमा पनि विश्वासको मत गुमाउने निश्चित छ ।

तत्कालीन केन्द्रीय गठबन्धन अनुसार २७ पुस २०७९ मा जसपा संसदीय दलका नेता यादव नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

डेढ वर्षको कार्यकालमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए । तर, २३ जेठमा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहित ७ सांसदले फुटाएपछि कमजोर बन्यो । लगतै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे ।
केन्द्रमा पाँचसिट मात्र बाँकी रहेको जसपा प्रचण्ड सरकाबाट बाहिरियो । र उसले हरसम्भव मधेशमा रहेको आफ्नो सरकार बचाउन लागिरहे । एकीकृत समाजवादी मधेश सरकारमै यथावत, काँग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आशासहित सरकार बच्नेमा जसपा ढुक्क जस्तै थियो । तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाड्दा जसपा सरकार ढल्नेमा दुईमत रहेन ।

Sponsored

जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । अब एकीकृत समाजवादी र अन्य साना दलको साथले जनमत नेतृत्वको सरकार बन्ने पनि करिब तय छ ।
१०७ सदस्य मधेश प्रदेशसभामा एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ सिट छ । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेतले दावी पेश गर्ने पत्रमा हस्ताक्षर गरिसकेको माओवादीका एक सांसदले बताए ।
अब बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने श्रम तथा यातायात मन्त्रीबाट राजिनामा दिएकी एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले बताइन् । लोसपालाई समेत समेट्ने ती दलहरुको प्रयास छ ।

अब जनमत संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ । उनी जसपाकै सरकारमा शिक्षा तथा संस्कृति मन्त्री थिए । मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारी रहेको निवर्तमान मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले बताए ।
आज नैतिकताको आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले राजिनामा दिए वा सदन फेस गरे त्यसलाई विफल बनाएर दावी पेश गर्ने दलहरुको तयारी छ । मुख्यमन्त्री यादवले राजिनामा दिने वा सदन नै फेस गर्ने विषयमा आज बिहान १० बजे जसपाको बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने एक नेताले बताए ।

मधेश प्रदेश स्थापनाकालदेखि पहिलोपटक जसपा नेपालको एकक्षत्र प्रदेश सरकार ढल्ने निश्चित भएको छ । र पहिलो पटक जसपासंग टसल परिरहने सिके राउत नेतृत्वको जनमत पार्टी नै सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

मधेशमा यसअघि पहिलो कार्यकालमा जसपा नेपालका लालबाबु राउत निरन्तर पाँचवर्ष मुख्यमन्त्री रहे । गठबन्धन फेरबदल र पार्टीको टुटफुट ब्यहोरेपनि मुख्यमन्त्रीबाट लालबाबुलाई हट्नु परेन । त्यस बेला मधेश आन्दोलनको रापतापमा २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालले जितेको थियो । पछि उपेन्द्र यादव नेतृत्वको फोरम र २५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) एकता भएर जसपा बन्यो । पछि पुनः विभाजन भएपछि उपेन्द्र यादवबको जसपामा महन्थ ठाकुरका केही सांसदहरु बसेपछि जसपा सभामुखसहित ३९ सिटमा कायम रह्यो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *