TodayPati

यातायात कार्यालय वीरगञ्जमा फाजिल कर्मचारी, तलबभत्ता खुवाउनै सकस

टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।

पर्साको यातायात व्यवस्था कार्यालय वीरगञ्जमा सेवासमूह प्रशासन/सा.प्र. तर्फ ६ जनाको दरबन्दी छ । तर सो दरबन्दीमा यस कार्यालयमा ७ जना (अधिकृत छैठौं) र ५ जना नायब सुब्बा (सहायक पाँचौं) कार्यारत्त छन् ।

सहायक शाखा अधिकृतहरु जिवरमण पौडेल, रामबाबु राय, चन्द्र शेखर साह, संजय कुमार साह, छविन्द्र बहादुर यौञ्जन, रामसुन्दर महतो, विनोद कापर छन् भने नायब सुब्बाहरु केविन्द्र कुमार यादव, विश्वनाथ राय, जितेन्द्र कुमार राउत र निलराज गुर्मछान छन् । ६ जनाको दरबन्दीमा काम गरिहेका उनीहरु प्रायः यस कार्यालयमा २ देखि ६ वर्षसम्म कार्यरत्त छन् । त्यसमा ५ जना फाजिल कर्मचारी हुन् ।

Sponsored

विविध सेवा समूह तर्फ तीन कर्मचारीको दरबन्दीमा चारजना कम्प्युटर अधिकृत कार्यरत्त छन् । शेष रेजाउल हक, मोहम्मद कलाम हुसैन, शम्भु चौधरी र पंकज कुमार झा छन् । दरबन्दी भन्दा १ जना फाजिल छन् । उनीहरु पनि प्रायः २ देखि ८ वर्षसम्म कार्यरत्त रहेको कार्यालय स्रोतको भनाइ छ । दरबन्दी नरहेको ह.स.चा. तर्फ सम्भु गुरुंग त्यस कार्यालयमा दुई दशकदेखि करारमा कार्यरत्त छन् ।

वीरगञ्ज यतायाता व्यवस्था कार्यालयमा विभिन्न पदमा २४ जनाको दरबन्दी छ । तर ३० जना कर्मचारी कार्यरत्त रहेको कार्यालयकै तथ्यांकमा छ ।
कार्यालयमा कर्मचारी फाजिल भएपनि त्यहाँबाट सरुवा भएमा अन्यत्र जान मान्दैनन् । पहुँच र पावरको भरमा उनीहरु बेलाबेला मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मधेश प्रदेशलाई प्रभावमा पारेर आफ्नो सरुवा रोकाउँछन् । कर्मचारी व्यवस्थापन गर्ने मधेशको मुख्यमन्त्री कार्यालय दरबन्दी र आवश्यक्ता नभएपनि यातायात व्यवस्था कार्यालयमा अनावश्यक कर्मचारी पठाउने र चलाउने गरेको कार्यालय स्रोतको दावी छ ।

यही कारण वीरगञ्ज यातायात व्यवस्था कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी हुँदा तलबभत्ता खुवाउन अपठ्यारो भएको छ । कार्यालयले केहीदिन अघि श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशलाई पत्र लेखेर कर्मचारी फाजिल हुँदा तलब खुवाउन गाह्रो भएको बताएको छ ।
‘..यस कार्यालयमा कार्यरत्त कर्मचारीहरुको लागि तलब भत्ता अपुग रहेकाले यस कार्यालयमा कार्यरत्त संघका कर्मचारी र दलबन्दीका कर्मचारी कटौती भइ फाजिल रहेका सबै समूहका कर्मचारीलाई यस कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने वा नगर्ने स्पष्ट निर्देशन दिन हुन अनुरोध छ’ यातायात व्यवस्था कार्यालय वीरगञ्जले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।
फाजिल रहेको कर्मचारीलाई तलब नखुवाउन मन्त्रालयबाट मौखिक निर्देशन आएपछि लिखित पत्र पठाएको कार्यालय प्रमुख उमेश रेग्मी बताउँछन् ।

Sponsored

श्रम तथा यातायात मन्त्रालयले दरबन्दी र स्वीकृत आएम बाहेकका कर्मचारीलाई तलब भत्ता नखुवाउन कार्यालयलाई पत्र पठाएको छ । यस्तै कर्मचारी व्यवस्थापन गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पनि मन्त्रालयले पत्र पठाएर दरबन्दी मिलानको काम गरिदिन पत्र पठाएको छ ।
श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले कर्मचारीलाई तलबभत्ता खुवाउन अपठ्यारो भएको पत्र वीरगञ्ज यातयात कार्यालयबाट आएपछि मुख्यमन्त्री कार्यालयलाई पनि पठाएको बताए । ‘कर्मचारी व्यवस्थापन गर्ने काम मुख्यमन्त्री कार्यालयको हो । पत्र पठाएका हौं । त्यहीबाट समस्या समाधान हुन्छ’ उनले भने ।

यातायात व्यवस्था कार्यालयका प्रमुख रेग्मी भने अहिले पनि कर्मचारीको अभाव रहेको बताउँछन् । ‘सबभन्दा बढी राजश्व उठाउने कार्यालय यातायात कार्यालय वीरगञ्ज हो । तर कर्मचारी दरबन्दी जनकपुर यातायात कार्यालय वा अन्य जस्तै छ । यहाँ सेवाग्राहीको भीडभाड हुन्छ । कामको चाप छ । अझै कर्मचारीको आवश्यक्ता छ’ उनले भने । उनका अनुसार पहिलेको र्दुइवटा यातायात कार्यालय मर्ज भएपछि पनि दरबन्दी थपिएको छैन’ उनले भने ।

वीरगञ्जमा एकवर्ष अघिसम्म सवारी यातायात व्यवस्था कार्यालय र लाइसेन्स हेर्ने यातायात कार्यालय अलग्गै थियो । गत साउनमा दुईवटै कार्यालय गाभिएको थियो । सवारी यातायात व्यवस्था कार्यालयमै लामोसमय प्रमुख रहेका रेग्मी कार्यालय समायोजन भएर एक भएपछि भदौ १३ मा सरुवा भएका थिए । पुनः ३ महिनापछि पुनः यातायात व्यवस्था कार्यालय वीरगञ्मै पुगेका थिए । उनले दुईवटा कार्यालय समायोजन भएपनि कर्मचारी दरबन्दी पुरानै रहेकाले कार्यालय संचालनमा समस्या भएको बताए ।

यातायात माल अड्डा रहेकाले कर्मचारीहरुको रोजाइमा सबभन्दा बढी पर्ने गरेको छ । र मुख्यमन्त्री कार्यालयले यसमा बढी चासो राख्ने गरेको कर्मचारी श्रोतको दावी छ । त्यस कारण कार्यालयहरुमा आवश्यक्ता भन्दा बढी कर्मचारी थन्किने गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *