एकै दिन ५९ जनामा कोरोनाको संक्रमण देखिएपछि बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
टुडेपाटी-
बाँके, जेठ ६ गते ।
बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीका दीर्घराज उपाध्यायका अनुसार गाउँपालिका अर्का निर्णय नहुँदासम्मका लागि सिल गरिएकाे छ । नरैनापुर सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि पर्छ। भारतसँग सीमा जोडिएको नरैनापुरमा ६ वटा वडा छन् ।
संक्रमणका न्यूनीकरणका लागि आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। उनका अनुसार गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नरैनापुरमा सोमबार ५९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे। याेसहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ ।
Sponsored
नरैनापुरमा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गइसकेकाे छ ।
सुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यससँगै बाँकेमा कोरोना सङ्क्रमितको संख्या ९३ जनामा पुष्टि भएको छ। यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा संक्रमण देखिएको छ ।
बाँकेमा पहिलोपटक संक्रमण पुष्टि भएका २५ जनाकाे खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार भइरहेकाे छ । नरैनापुरमा फेला परेका आठ जनालाई दाङस्थित आइसोलेसन अस्पतालमा पठाइएको छ ।
सोमबार पुष्टि भएका ५९ जनालाई भने नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्ने तयारी छ।