भंगहाका मेयर साह सीमामा अलपत्र आफ्ना नगरबासीलाई उद्धार गर्ने
टुडेपाटी-
महोत्तरी, जेठ ६ गते ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नेपाल भारत सीमामा अलपत्र परेका आफ्ना नागरबासीलाई उद्धार गर्ने भएका छन् । महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन र सीमा सीलको कारण भारतको विभिन्न स्थानबाट घर फर्किने क्रममा सीममा अलपत्र परेका भंगहा नगरपालिका भित्रका नागरिकलाई आजदेखि उद्धार गर्ने मेयर साहले बताए ।
‘भारतको विभिन्न ठाउँबाट फर्केर यहाँका दर्जनौं नागरिक सीमामा कष्टकर जीवन बिताउन बाध्य छन् । लुकिछिपी घर आउँदा गाउँ नगरमा कोरोनाको उच्च जोखिम छ । त्यसैले भंगहाका नागरिकलाई उद्धार गरी ल्याएर व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने योजना बनाएका छौं,’ मेयर साहले टुडेपाटीसंग भने ‘क्वारेन्टाइनमा ल्याएपछि तिनीहरुमा कोरोना परिक्षण गरी चेकजाँच गरी मात्र चिकित्सकको सल्लाह अनुसार घर पठाउछौं ।’
भंगहा नगरपालिकाले सीतापुर बजार स्थित भंगहा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ । जसमा अहिले बाहिरबाट आएका ३१ जना व्यक्तिहरु रहेको मेयर साहले जानकारी समेत गराए । आवश्यक्ता अनुसार अझै क्वारेन्टाइन निर्माण गर्ने उनले बताए ।