धनुषाका थप २ जना कोरोना संक्रमित जनकपुरको रहेको खुलासा, बिहारबाट आएका थिए
नितेश यादव-
जनकपुरधाम, जेठ ६ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति धनुषाका थप २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाका अनुसार दुवै संक्रमित धनुषाको नगराइन नगरपालिकाको गंगुली गाउँमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित दुवैजना जनकपुरधाम उपमहानगरपालिकाका रहेको पुष्टि प्रादेशिक क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले गरे । उनका अनुसार १ जना ४५ वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिका–६ निवासी हुन् भने अर्का १ जना २१ वर्षीय जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी हुन् ।
दुवै जना भारतको बिहारबाट आएका ठाकुरले जानकारी दिए । जेठ १ गते क्वारेन्टाइनमा आएका र २ गते स्वाब संकलनको काम गरिएको ठाकुरको भनाइ छ ।
Sponsored