महोत्तरीबाट १०७ किलो गाँजासहित एक युवक पक्राउ
टुडेपाटी
जनकपुरधाम, जेठ ७ गते ।
महोत्तरीबाट १०७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो औरही नगरपालिका ८ टिम्कियाबाट बी.आर.३० ए.एच.२३८८ को भारतीय नम्बरप्लेटको कारलाई रोकेर चेकजाँचको क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए ।
उनका अनुसार कारको डिकीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको हो ।
गाँजासहित कार र चालक यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored