जनकपुरमा क्वारेन्टाइनको आलोचना भएपछि १०० बेडको क्वारेन्टाइन बनाइदै
टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएका मानिसलाई राख्न जनकपुरधाम उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइन अव्यवस्थित रहेको चौतर्फी आलोचना हुन थालेपछि उपमहानगरले क्वारेन्टाइन व्यवस्थापन तर्फ ध्यान केन्द्रित गरेको छ ।
सरकारको मापदण्ड विपरीत जनकपुरधाम उपमहानगरपालिका-७ स्थित स्वस्तिक हस्पिटलमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा सरसफाइको कुनै व्यवस्थापन नरहेको विगत ५ दिनदेखि त्यहाँ बसिरहेका व्यक्तिहरुले गुनासो गरेका छन् ।
यस्ता जनगुनासाहरुलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले वडा नं.४ स्थित गोपाल धर्मशालामा १ सय बेड क्षमताको क्वारेन्टाइन निर्माण सुरु गरेको हो ।
त्यहाँ रहेका कोठाहरुमा क्वारेन्टाइन निर्माणका लागि जनकपुरधाम उपमहानगरले थालेको तयारी अन्तिम चरणमा पुगेको र आज रातीसम्म सम्पूर्ण काम सकाएर भोली (मंगलबार) देखि क्वारेन्टाइन पूर्ण रूपमा सञ्चालनमा आउने उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले बताइन् ।
Sponsored
धनुषामा योसँगै क्वारेन्टाइनको संख्या १८ पुग्ने छ । गोपाल धर्मशालामा क्वारेन्टाइन निर्माण भईसकेपछि अर्को क्वारेन्टाइन वडा नं.२४ बसहियास्थित जनकपुर ईन्जिनियरिङ्ग कलेजमासमेत बनाईने उपप्रमुख मिश्रले बताइन् ।