TodayPati

जनकपुरको दोश्रो पीसीआर मेसिन पनि गलत रिपोर्ट दिएपछि परीक्षण बन्द

टुडेपाटी-

जनकपुरधाम, जेठ ५ गते ।

प्रादेशिक अस्पताल जनकपुरमा दोश्रो पटक कोरोना परीक्षण गर्ने काम बन्द भएको छ । प्रादेशिक अस्पतालमा जडान गरिएको पीसीआर मेसिनले गलत रिपोर्ट दिएपछि यहाँ कोरोना परीक्षण तत्कालको लागि बन्द गरिएको हो ।

Sponsored

यसभन्दा पहिला पनि प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पिसिआर मेसिनले गलत रिपोर्ट दिएपछि जाँच बन्द गरेर दोस्रो पिसिआर मेसिन जडान गरिएको थियो तर यसले पनि गलत रिपोर्ट दिएपछि पूनः यहाँ स्वाब परिक्षण गर्ने काम बन्द गरिएको प्रादेशिक अस्पताल जनकपुरका एक डाक्टरले जानकारी दिए ।

प्रदेश २ कोरोनाको हटस्पट बनिसकेको र यहाँको सबै जिल्लामा कोरोना फैलिसकेको अवस्थामा समेत यहाँको अधिकांश जिल्लामा स्वाब संकलन गरेर जाँचको लागि काठमाडौँ पठाउनु पर्ने समस्या कायम रहेको छ । गत वैशाख २४ गते जनकपुरधाममै संकलित पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालको पीसीआर मेसिनले नेगेटिभ नतिजा देखाएको थियो तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एकजना पत्रकार सहित दुईजनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरका एकजना डाक्टरका अनुसार यहाँ संकलन गरिएको सबै स्वाब टेकु पठाइने गरेको बताए ।पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पीसीआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुर आएकी थिइन् । प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले आफुहरुलाई यस मेसिनमा विश्वास नरहेको र आफुहरु ठुलो मेसिनको माग गर्दै आएको बताए ।

Sponsored

प्रादेशिक प्रयोगशाला र टेकुको रिपोर्ट पटकपटक फरक पर्न थालेपछि यहाँ कार्यरत प्राविधिकहरुको दक्षतामा समेत प्रश्न उठ्न थालेको छ । कतिपय जानकारहरु प्राविधिकलाई पर्याप्त तालिम नदिँदा यस्तो समस्या आएको बताउँछन् ।

यता प्रदेश सरकारले रियल टाइम पीसीआर मेसिन दुई वटा खरिद गर्न प्रक्रिया थालेको हो । प्रादेशिक अस्पताल जनकपुर र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जडान गर्न प्रदेश सरकारले दुईथान पीसीआर मेसिन खरिद गर्न लागेको हो ।

प्रदेश दुईको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीसीआर खरिद गर्न टेन्डर प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *