सर्लाहीकी युवती कोरोना संक्रमित भएपछि गाउँ सिल
टुडेपाटी-
सर्लाही, जेठ ५ गते ।
सर्लाहीको रामनगर गाउँपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिलाई सिल गरिएको छ ।रामनगर ४ बहुअर्वाकी युवतीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले युवतीको गाउँलाई सिल गरेको हो ।
गाउँको विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । प्रशासनले युवतीको घर रहेको पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
एक महिने बालकसहित युवतीको परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । संक्रमित युवती भने अहिले काठमाडौँमा छिन् । संक्रमित युवतीका परिवारले जडीबुटी चोकमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका छन् ।
सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन्।लकडाउन सुरु हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन् ।
Sponsored
२२ वैशाखमा दुई वटा मोटरसाइकलमा उनी आफ्ना दुई भाइ र बहिनीका साथ काठमाडौँ गएकी स्थानीयले बताएका छन् । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको पाइएको छ । तर, अहिलेसम्म युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै सर्लाहीमा संक्रमितको सङ्ख्या तीन पुगेको छ । यसअघि धनकौलका १४ वर्षे किशोर र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।