TodayPati

जनकपुरमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

जनकपुरधाम, चैत ३० गते ।

मधेश प्रदेशस्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता शुक्रबारदेखि राजधानी जनकपुरधाममा सुरु भएको छ ।
खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साहले राष्ट्रिय प्रशिक्षक भरत यादवलाई भलिवल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
मन्त्री साहले मधेश प्रदेशमा खेलकूदको विकासको लागि सरकार प्रतिबद्ध रहेको बताइन् । खेल र खेलाडीलाई अघि बढाउन प्रदेश सरकारले केही दिनभित्रै खेलकूद सम्बन्धी विधेयक ल्याउने प्रतिबद्धता समेत जनाइन् ।

उनले मधेश प्रदेशमा खेल र खेलाडीको विकासमा सरकार ठोस नीति बनाएर अघि बढ्नलागेको जानकारी दिइन् ।
खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयालको सभापतित्वमा भएको उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादवले खेलाडी र प्रशिक्षकलाई व्यस्त राख्नुपर्नेमा जोड दिए ।

Sponsored

प्रदेशका सामुदायिक विद्यालयहरुमा प्रशिक्षक नियुक्त गरेर खेलकूदको गतिविधि अघि बढाउनुपर्नेमा उनले जोड दिए । खेलाडी र प्रशिक्षकलाई खेलमा व्यस्त राखेरै खेलकूदको विकास गर्न सकिने तर्क यादवको थियो । यसले खेलाडीलाई खेलप्रति थप समर्पित भएर खेल्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । नेपाल कराँते संघले देशैभर रहेको ३६ हजार सामुदायिक विद्यालयमा कराँते प्रशिक्षक नियुक्तीको लागि राष्ट्रिय खेलकूद परिषद्मा माग गरिरहँदा प्रशिक्षकहरुले पनि प्रदेशमा सामुदायिक विद्यालयमा प्रशिक्षक नियुक्तीको माग गरे ।
नेपाल कराँते संघ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले प्रदेशका सामुदायिक विद्यालयहरुमा करार सेवामा भएपनि कराँते प्रशिक्षक नियुक्त गर्नुपर्ने माग गरे ।
‘खेलकूद विकासको सुरुवात विद्यालयबाटै गर्नुपर्छ’, उनले भने ‘यसको लागि सामुदायिक विद्यालयमा प्रशिक्षक नियुक्त हुनुपर्छ ।’

प्रशिक्षक नियुक्त हुँदा रोजगारी पाउनका साथै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने तर्क उनले गरे ।
सो अवसरमा भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादवले खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्न प्रदेश सरकारलाई आग्रह गरे । ‘शिक्षालाई मानिसमा बौद्धिकताको विकास गर्छ भने खेलले अनुशासनको । त्यसैले खेलको विकास पनि शिक्षासँगै अघि बढाउनुपर्छ’ उनले भने ।

बैशाख २ गतेसम्म चल्ने प्रदेशस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आठै जिल्लाबाट खेलाडी र अफिसियलसहित करिब आठ सय ५० जनाको सहभागिता रहेको अजित मिश्रले जानकारी दिए । भलिवल, कराँते, उसु, ताइक्वान्दो, एथलेटिक्ससहितका खेलमा ४ सय ८ पदकको लागि प्रतिस्पर्धा हुने भएको छ

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *