प्रदेश – २ सबैभन्दा गरिब
जनकपुरधाम, माघ २६ गते ।
सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ। प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत देखाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ ।
बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ। आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचकांकमा भने पुछारमा छ ।
Sponsored