TodayPati

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित

टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत प्रसाद थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर स्रोत नखुलेको करोडौं सम्पति आर्जन गरेको भन्दै अख्तियारले थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ असोज ७ गते बागमती नगरपालिकाको पहिलो पटक र दोश्रो पटक समेत निरन्त मेयरमा निर्वाचित भएको २०७९ माघ २९ गतेसम्मको अवधिमा उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार २०७४ असोज ७ गते अघि उनको संगोलको सम्पति ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ संगोल परिवारको सम्पति रहेकोमा मेयर भए यता उनले १३ करोड २० लाख ५ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी भएको देखिएको छ । उनले सार्वजनिक पदको दुरुपयोग गरेर ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
त्यसै गरी उनले गैर कानूनी रुपमा आर्जन गरेको सम्पति असुल उपर हुनु पर्ने अख्तियारले माग दावी गरेको छ ।

Sponsored

मेयर थापाले आर्जन गरेको गैर कानुनी सम्पति उनकी श्रीमती रेश्मी कुमारी घिमिरे थापा, उनका भाई रामकुमार थापा र भाई बुहारी द्वारिका राउतको नाममा समेत देखिएकाले उनीहरुलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । थापा नेकपा माओवादी केन्द्रबाट दोश्रो पटक मेयरमा निर्वाचित छन् ।
भ्रष्टाचार मुद्दा दायरसंगै उनी पदबाट निलम्बित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *