धनुषामा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु, अर्का गम्भीर
टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।
धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । सोही ठाउँका स्थानीय २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।
डिएसपी अवाका अनुसार आज साँझ साढे ६ बजेको समयमा जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
एम्बुलेन्स र मोटरसाइकल तिव्रगतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यस क्रममा मोटरसाइकलमा सबार दुबैजना गम्भीर घाइते भएका थिए ।
जितेन्द्रको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे मृत्यु भएको हो । एम्बुलेन्स चालक फरार रहेको र खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयले एम्बुलेन्समा तोडफोड गरेका छन् ।
Sponsored