TodayPati

सेटिङमा मदिरा तस्करीको भण्डाफोर गरेपछि प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना

टुडेपाटी
सिरहा, चैत १२ गते ।
सिरहामा सरकारी निकायकै सेटिङमा कर छली हुँदै मदिरा तस्करी हुने गरेको भण्डाफोर गरेपछि सिरहाका पत्रकार विनय आजादमाथि आक्रमणको योजना बनेको खुलेको छ ।
कमाइ मर्ने र कारबाहीमा पर्ने डरले अतालिएका प्रहरीकै रोहबरमा उनीमाथि आक्रमण गर्ने योजना बनेको रहस्य सार्वजनिक भएको हो ।

कान्तिपुर टेलिभिजनका सिरहा संवाददाता आजादले गत चैत ४ गते सरकारी संयन्त्रकै मिलेमतोमा सिरहाको शारदा डिस्टिलरी उद्योगले राजस्व छली गर्दै आएको भण्डाफोर गरेका थिए । सो उद्योगबाट उत्पादित अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयबारे समाचार प्रसारण भएपछि प्रहरी प्रशासन अतालिएका हुन् ।

समाचार प्रसारणपछि चैत ८ गते सिरहाका प्रमुख प्रहरी नायब निरीक्षक अमित राईसँगै बसेर तस्करीमा आरोपित व्यक्तिहरूले आजादलाई आक्रमण गर्ने योजना बनाएका थिए । सो कुरा सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ सिरहा शाखाले यसप्रति खेद प्रकट गरेको छ ।

Sponsored

महासंघका जिल्ला अध्यक्ष मनोज बनैता यादवले आइतबार विज्ञप्ति जारी गर्दै यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पत्रकारलाई सुरक्षा दिनुपर्नेमा प्रहरीकै रोहबरमा यस्तो कार्य भएको भन्दै छानबिन र दोषीलाई कारबाही गर्न महासंघले माग गरेको छ ।

समाचार प्रसारण भएपछि आन्तरिक राजस्व कार्यालयले उद्योग र माडरस्थित गोदाममा सिल गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र गोदामका मालिक ललनकुमार यादव पक्राउ परेका छन् ।

उद्योगका दुईजना मालिक प्रमोद गोयन्का र नवीन गोयन्का भने फरार छन् । प्रहरी प्रशासनकै मिलेमतोमा अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयमा प्रहरी प्रधान कार्यालय नक्सालले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *