चुनावी वाचा विपरीत जथाभावी खोला खनाउँदै बटेश्वर गाउँपालिका अध्यक्ष महतो
टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।
धनुषाको बटेश्वर गाउँपालि १ स्थित बडहडी खोलाको बिजोग छ । ठेकेदारले जेसिभी स्काइभेटर जस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिट गहिरोसम्मको ग्राइभेल झिकेका ठूला ठूला खाल्डा यत्रतत्र छन् । त्यहाँको दृश्यले ठेकेदारले सरकारलाई गिज्याइरहेको छ ।
मंगलबार अनुगमनमा पुगेका जिल्ला समन्वय समिति धनुषाका सभापति राजनारायण मण्डलसहितको टोलि वस्तु स्थिति हेरेर चकित भए । सभापति मण्डलले ३० फिटसम्म जथाभावी ग्राइभेल उत्खनन भएको दावी नै गरे ।
‘हेर्दै २५।३० फिट गहिरोसम्म खनेको देखिन्छ । जथाभावी खनेर अति नै गरेका छन् । अब समन्वय समितिको बैठक बसरे के कानुनी कारबाही गर्ने निर्णय लिन्छौं’ उनले भने ।
जवकी कानुन बमोजिम केवल चारफिट गहिरोसम्मबाट मात्र गिट्टी बालुवा झिक्न पाउने कानुनी व्यवस्था छ । वातावरणलाई प्रतिकुल असर नपर्ने तथा गाउँवस्तीलाई जोखिम नगर्ने कुरालाई ख्याल गर्नु पर्छ । तर, ठेकेदारले आफ्नै बेसुरमा उत्खनन गर्दा गाउँवस्ती समेत जोखिमा पारिरहेका छन् ।
बडहडी खोलाको जथाभावी उत्खननले बटेश्वर गाउँपालिका १ को चित्रपुर, निरशपुर र विजयपुर वस्तीमा बाढी पस्ने जोखिम छ । केहीवर्षअघि त्यहाँकै बाँध भत्काएर बाढी वस्ती पसेको थियो । बाँध भत्किएकै ठाउँमा जथाभावी उत्खननले स्थानीय त्रसित छन् ।
‘एकपटक त बाँध भत्काएरै गाउँमा बढी पसेको थियो । अब फेरि बाँध भएकै ठाउँमा यसरी खनेपछि गाउँ झन् वस्तीहरु बाढीको जोखिम बढेको छ । तै पनि दिनरात उत्खनन गर्छन् । यो त गाउँपालिकाले ठेक्का नै लगाउँनै हुदैन्थ्यो । चुनावमा भोट माग्दा बन्द गर्छौ भन्यौ’ चित्रपुरका स्थानीय महेश महतोले भन्छन् ।
Sponsored
यसअघिका गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले खोला ठेक्का लगाएर जथाभावी उत्खनन गराएपछि स्थानीयले रोकाउन खोजेका थिए । चार वर्षअघि रोकाउने क्रममा दुई युवकमाथि क्रसर माफियाले फलामले छडले आक्रमण गरेका थिए । एकजना गम्भीर घाइते भएका थिए । लामो उपचार पश्चात बाँचे ।
वर्तमान पालिका अध्यक्ष रामशिष महतो, वडाध्यक्ष अशोक कुमार महतो गत २०७९ को स्थानीय चुनावमा त्यसैलाई चुनावी मुद्दा बनाए । आफू जिते नदी दोहन बन्द गराउने जनतामा प्रतिवद्धता गर्दै मत मागेर ३० वैशाख २०७९ को स्थानीय चुनावमा नेपाली काँग्रेसबाट दुबैजना निर्वाचित पनि भए ।
तर, चुनावी प्रतिवद्धता विपरीत पालिका अध्यक्ष रामअशिष महतो एकवर्ष नबित्दै गत १५ फागुन २०७९ मा पालिका अन्तर्गत पर्ने बडहडी, सुकजोर र औरही खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी बिक्री वितरण गर्नका लागि टेन्डर आह्वानको सूचना प्रकाशन गराए । समाचार अनलाइनखबरले प्रकाशित गरेपछि उनी पछि हटे । टेन्डरको सूचना रद्द गरे ।
तर, एकवर्ष पश्चात फेरि उनको जोडबलमा बडहडी खोला ठेक्का लगाइएको हो । कार्यालयले महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार ४४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि भ्याटसहित २७ लाख ९ हजार १०३ रुपैयाँमा ठेक्का दिएको हो । गत फागुन ६ गते भएको ठेक्का सम्झौता अनुसारको परिमाणमा उत्खनन मिति अगामी जेठ १५ गतेसम्म पाउने उल्लेख छ । तर महिना नपुग्दै सम्झौता भन्दा तीनगुणा बढी उत्खनन गरेको अनुमान अनुगमनमा पुगेका गाउँपालिकाको कर्मचारीले लगाए ।
गाउँपलिका कार्यालय र ठकेदार कम्पनी पञ्चधुरामाई सप्लायर्सबीच भएको ३२ बुँदे ठेक्का सम्झौको कुनैपनि बुँदा पालना भएको छैन । नत गाउँपालिका कार्यालयबाट उत्खननको नियमन अनुगमन छ । वस्तु स्थिति हेर्दा सम्झौता भन्दा तीनगुणा बढी गिट्टी बालुवा जथाभावी उत्खनन ठेकेदारले एक महिना नपुग्दै गरेका छन् । धेरै मात्रामा स्टोक गरेका छन् भने धेरै दिनरात टिपरबाट बाहिर लगिसकेको वडाध्यक्ष अशोक महतोले बताए ।
काँग्रेसका स्थानीय नेता रामउदगार महतोले पालिका अध्यक्षले चुनावी वाचाविपरीत पैसा कमाउन वस्तीलाई जोखिममा राखेर मनपरी उत्खनन गराइरहेको आक्रोश पोखे । ‘चुनावमा जनताको घरदैलोमा गएर उत्खन गराउँछु भनेर भोँट मागे । जितेपछि हेर्नुस जथाभावी खनाउँदै छन् । सम्भौता विपरीत ठेकेदारले दिनारत खनेपनि कारबाही गरेका छैन । पैसा लिएर चुप भएर घरमा छन् । यता ठेकेदारले उत्पात मच्चाएछन्’ उनले भने ।
वडाध्यक्ष महतो पनि पालिका अध्यक्षकै मिलेमतोमा ठेकेदारले जथाभावी उत्खनन गरेको आक्रोश पोखे । केहीदिन अघि गाउँलेले वडाध्यक्ष महतोलाई भेला डाकेर घेरेका थिए । खोला उत्खनन बन्द गराउने भनेर भोट लिने अहिले खनाउने भन्दै स्थानीयले हुलहुज्जत र घेरेपछि उनी तनावमा छन् ।
उनले खोला ठेक्का नलगाउन पटक पटक आग्रह गरेपनि पालिका अध्यक्षले मापदण्ड अनुसार नै उत्खनन हुने भनेर जोडबल गरि लगाएको आरोप लगाए । तर, ठेक्कामा आफूले हस्ताक्षर नगरे पनि ठेक्का लगाउने कार्यपालिकाको निर्णयमा भने उनले हस्ताक्षर गरेको स्वीकारे ।
‘पहिले मापदण्ड अनुसार उत्खनन हुन्छ । राजश्व आउँछ भनेर पालिका अध्यक्षले ठेक्का लगाउन रस्साकस्सी गर्नुभयो । अहिले घरमा सुतेर ठेकेदारसंग मिलेमतो गरी जथाभावी उत्खनन गराउँदै हुनुहुन्छ । यहाँ जनताले मलाई घेरिरहेका छन् । अब कुनैपनि हालतमा यो ठेक्का लगाउन दिन्नँ ।’
उनकै हारगुहारमा समन्वय समितिको अनुगमन टोलि दुईपटक उत्खनन स्थलमा पुगेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले आफू पनि ठेक्का लगाउने मनस्थितिमा नहुँदा जनप्रतिनिधि र उत्खनन गर्ने युवाहरुको दबाबमा लगाउन बाध्य भएको बताए । ‘ठेक्का लगाउन नचाहँदा ममाथि धेरै दबाब आयो । अनि बाध्य भएर लगाएँ । मेरो पनि टाउको दुखाइ बनेको छ । अब बन्द गर्न भनिसकेको छु । नापजाँच गरेर बढी खनेको छ भने कानुन बमोजिमक कारबाही हुन्छ’
पालिका अध्यक्ष महतोले उत्खनन रोक्न पत्राचार गरिसकेको बताए । ‘मैले उत्खनन रोक्न भनिसकेको छु । पत्राचार भइसकेको छ’ उनले भने ।
उत्खनन हुने ठाउँ इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ढल्केवरको क्षेत्र पर्दछ । तर दिनरात हैब्बी स्काइभेटर र दर्जनौ टिपर लगाएर उत्खनन गर्दा पनि प्रहरी प्रशासन मौन छ । ठेकेदारले जनप्रतिनिधिसंगै प्रहरी प्रशासनलाई कमिसन दिने गरेको कारण कसैले मनपरी उत्खनन गर्दा सबै मुकदर्शक बनेको स्थानीयको आरोप छ ।
प्रहरी प्रशानको भूमिकाप्रति समन्वय समिति सभापति मण्डलले पनि शंका व्यक्त गरे । ‘हामी अनुगमनमा आउँछौ भनेर ठकेदारले कसरी पूर्व सूचना पाउँछ । हेर्नुस रातिमै सबै साइड भइसकेका छन् । खाल्डोलाई पुर्ने प्रयास भएको छ’ उनले भने ‘जहाँ पनि उत्खनन हुने ठाउँमा पुग्दा पहिला नै उत्खनन गर्नेहरु सचेत भइहाल्छन् ।’
Sab sala chor Hun… Hatti danteharu.