TodayPati

मधेश : सुराकी नाममा गृहका सचिवदेखि मन्त्रीसम्मले बुझे झण्डै डेढ करोड, नयाँ मन्त्रीले गरे खर्च कटौती

टुडेपाटी-
जनकपुरधाम, चैत ७ गते ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालले सुराकीको नाममा मन्त्री तथा सचिवलाई दिने गरेको खर्च कटौती गरिएको छ । मंगलबार साँझ गृह संचार मन्त्रालयका समेत जिम्मेबारी पाएका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पदभार ग्रहण गर्दै सुराकी खर्च कटौत गर्ने पहिलो निर्णय गरेका हुन् ।

सोमबार भौतिक पूर्वाधार विकास मन्त्रीबनेपछि उनलाई मंगलबार गृह संचार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी मुख्यमन्त्री सरोजकुमार यादवले दिएका थिए । ‘गृह मन्त्रालयमा अहिलेसम्म सुराकीको नाममा मन्त्र, राज्यमन्त्री र सचिवले मनपरी रकम बुझ्ने गरेका थिए । म पदभार ग्रहण गरेपछि त्यो खर्च कटौती गर्ने पहिलो निर्णय गरेको छु । यो निर्णय क्याबिनेटमा लग्छु’ मन्त्री यादवले भने ।

Sponsored

मनपरी सचिवदेखि मन्त्रीसम्मले लिँदै आएका थिए सुराकी खर्च

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले सुराकीको नाममा मनोमानी ढंगले रकम खर्च गरेको पाइएको छ । प्रहरी समेत अहिलेसम्म समायोजन नभएको अवस्थामा मधेश प्रदेशको गृहका मन्त्री, गृह राज्य मन्त्री र सचिवले भने सुरक्षा र सुराकी खर्चको नाममा रकम बुझ्दै आएको खुलेको छ ।
गृहका सचिवदेखि राज्य मन्त्री र मन्त्रीहरु अहिलेसम्म सुराकीको नाममा १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ बुझेका हुन् ।

रकम बुझ्नेहरुमा ५ मन्त्रीहरु, ३ राज्य मन्त्री र ९ सचिव छन् । उनीहरुले आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०८०÷८१ सम्म निरन्तर सुराकी वापतको खर्च बुझ्दै आएका हुन् ।
सबभन्दा बढी तत्कालीन गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले ५४ लाख रुपैयाँ बुझेका छन् । अर्का मन्त्री भरतप्रसाद साहले २६ लाख ७० हजार रुपैयाँ बुझेका छन् ।
मन्त्री सत्रुधनप्रसाद सिंहले ३ लाख र हालका मुख्यमन्त्री सराजेकुमार यादवले पनि ३ लाख रुपैयाँ सुराकी वापत बुझेका छन् ।

Sponsored

पछिल्लो पटक सुराकी वापत गृहमन्त्री मो. समिमले १ लाख २७ हजार ५ सय रुपैयाँ बुझेको उल्लेख छ । यस्तै राज्यमन्त्रीहरु सरोज सिंह कुशवाहाले ३ लाख, रुबी कर्णले १७ लाख ८६ हजार ६ सय ६६ रुपैयाँ र केशव रायले २ लाख ३ हजार बुझेका छन् ।

त्यसैगरी सुराकी खर्च बुझ्ने ९ सचिवहरुमा जगदिश रेग्मी, निमित्त सचिव अर्जुनकुमार शर्मा, निमित्त सचिव अरुणकुमार झा, कृष्णहरि पुष्कर, वीरेन्द्रकुमार यादव, रामकुमार महतो, निमित्त प्रदेश सचिव देकुमार झा, उमेश ढकाल र अर्का निमित्त सचिव उत्तमप्रसाद खरेल छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको छानबिन थालेको छ । अख्तियारको पत्राचारपछि मधेश प्रदेशको गृह मन्त्रालयले सुराकी वापत गरिएको खर्चको विवरण समेत अख्तियारलाई पठाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *