मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त
टुडेपाटी-
जनकपुरधाम, चैत १ गते ।
मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साहलाई नियुक्त गरेको छ । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गरेका हुन् । निमित उपकुलपतिको जिम्मेबारीमा रहेका डा. साह प्रतिष्ठानका शिक्षाध्यक्ष समेत हुन् ।
२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो ।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकुलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस भएकोमा मुख्यमन्त्री यादवले पहिलो क्रम संख्यामा रहेका डा. साहलाई उपकुलपति नियुक्त गरेका हुन् ।
उपकुलपति नियुक्तिका लागि १८ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । ९ जनाको दरखास्त परेको थियो ।
डा. रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अंकुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए ।
Sponsored