TodayPati

आरती मृत्यु प्रकरण : सीआईबीले पुनः अनुसन्धान गर्नेसहितको पाँच बुँदे सहमति, आन्दोलन फर्ता

टुडेपाटी-
जनकपुरधाम, फागुन ३० गते ।

छोरीको न्यायको लागि ९ महिनादेखि आन्दोलनरत्त मृतक आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउनेसहितको सहमति भएको हो ।

मंगलबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ ।

Sponsored

अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको हो ।

अनुसन्धानको क्रममा यस विषयमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने र त्यसबाट प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ ।

साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने समेत भनिएको छ । सहमतिसंगै आरतीका परिवारले आन्दोलन फिर्ता लिएका छन् ।

Sponsored

सहमतिमा परिवारका तर्फबाट निर्मलादेवी साह, दाजु प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।
जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि काव्या अस्पताल पुर्याइएको थियो । जहाँ उनलाई मृत घोषणा गरेको थियो । आत्महत्या गरेको माइत पक्षलाई परिवारजनले जानकारी दिएको थियो । माइत पक्षले छोरीको हत्या भएको भन्दै सुक्ष्म रुपमा अनुसन्धान गर्न आन्दोलन गरेका थिए ।

घटना हुनुभन्दा दुई वर्षअघि मोतीबाबु साहसँग उनको विवाह भएको थियो । माइतीपक्षको दाबी अनुसार, विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो ।

तर, मत्यु हुनुअघिका महिनाहरुमा दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो ।

यो मुद्दामा प्रहरीले श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा भन्दै दुवै जनालाई थुनामा राख्न आवश्यक नदेखिएको आदेश गरेको थियो ।

पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै फेरि पतिलाई थुनामा पठाउने आदेश गरेको थियो । अहिले मोतीबाबु साह थुनामा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *