दाइजोमा सुनको सिक्री नदिएको भन्दै कर्मचारी बेहुलाले गरे बिहे रद्द, आठजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन २९ गते ।
दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा एक कर्मचारी बेहुलाले बिहे नै रद्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले गए राति सोयम्बरपछि विवाह मण्डपमा बिहे रद्द गरेका हुन् ।
बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।
उनको पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग राति बिहे थियो ।
विवाहको लागि स्वयम्बर विधि भइसकेपछि विवावह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको छ ।
बिबाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए ।
उनले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए ।
बेहुली पक्षका अनुसार नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजोमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको थियो । तर गए राति बिहेको बेला सुनको सिक्री नपाएपछि बिहे नै नगर्ने अडान लिएपछि बिबाद भएको थियो ।
Sponsored