काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु, ३७ जनाको उद्धार
टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।
यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना पुरुष र एक महिला छन् । प्रहरीले ३७ जनाको जिवितै उद्धार गरेको छ ।
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस धादिङ गजुरीस्थित गलौदीमा आज बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । ३८ जनालाई उद्धार गरिएकोमा एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।
घाइतेहरुलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।