भारतमा कोरोनाबाट एकैदिन झण्डै ५ हजार संक्रमित थपिए, यो अहिलेसम्मकै सबैभन्दा धेरै
टुडेपाटी-
नयाँदिल्ली, जेठ ४ गते ।
भारतमा एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । शनिवार संक्रमितको संख्या ह्वात्तै बढ्दा गुजारातमा एकै दिन १ हजारभन्दा बढीमा कोभिड १९ देखियो । भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १ हजार ६ सय ६ जनमा संक्रमण देखियो भने त्यहाँ एकै दिन ६७ जनाले ज्यान गुमाए।
यससँगै भारतमा संक्रमितको संख्या ९० हजार ६ सय ७४ पुगेको छ। ८० हजारबाट ९० हजार छुन भारतलाई दुई दिनको अन्तरमात्र लाग्यो। शुक्रवारको तुलनामा शनिवार १ हजार १ सय बढी संक्रमित भेटिए ।
संक्रमितको संख्याका आधारमा महाराष्ट्रपछि दोस्रो प्रभावित राज्य बन्न पुगेको छ गुजरात। महाराष्ट्रमा अहिलेसम्म ३० हजार ७ सय ६ जना संक्रमित छन् भने तामिल नाडूमा १० हजार ५ सय ५८ गुजरातमा यो संख्या १० हजार ९ सय ८९ पुगेको छ । यसअघि तामिल नाडू दोस्रो स्थानमा रहँदै आएको थियो ।
नेपालसँग जोडिएको उत्तर प्रदेशमा आप्रवासी मजदूर फर्किएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ । थप २ सय ९ नयाँ संक्रमित उत्तर प्रदेशमा एकै दिन थपिए भने नौ जनाको मृत्यु भयो। उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।
Sponsored