आज प्रजातन्त्र दिवस मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।
राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।
गत माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिको बैठकले दिवसलाई फागु ६, ७ र ८ गते तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो । बैठकले घर–घरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान समेत गरेको थियो ।
दिवस मनाउन सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता छ ।
सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।
दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
Sponsored