सिरहामा कोरोना संक्रमित भेटिएको गाउँ सिल
रासस-
सिरहा, जेठ ४ गते ।
कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।
सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।
अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागाईंले बताए । सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । साथै युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उहाँको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको समेत प्रजिअ गुरागाईँले बताए ।
गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैबीच आजदेखि लकडाउनलाई अझ कडा बनाइने प्रजिअ गुरागाईँको भनाइ छ ।
तस्बिर : फाइल फोटो
Sponsored