रौतहटमा थप १० जनामा कोरोना, देशभर २९१ पुग्यो
टुडेपाटी–
रौतहट, जेठ ४ गते ।
रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे विज्ञप्ति जारी गरेर संक्रमितहरुलाई सार्वजनिक गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Sponsored
उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।