सर्लाहीमा चेकजाँच गरिरहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार
टुडेपाटी
जनकपुरधाम, माघ १९ गते ।
सर्लाहीमा एकजना ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको प्रहरी प्रमुख इन्सपेक्टर मदन थापाले जानकारी दिए ।
महोत्तरीको गौशाला नगरपालिका–३ घर भएका महतोमाथि कार्यालयमै रौतहटको राजपुर–१ घर भएका यमामुद्दिन देमानले छुरा प्रहार गरेको थापाले बताए ।
उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न कार्यालयभित्र छिरेका महतोमाथि देमानले छुरा प्रहार गरेका थिए ।
देमान पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकल चढेर आएका थिए । महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा उनलाई प्रहरीले तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखेको छ ।
छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
Sponsored