TodayPati

बटेश्वर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन चुहिन थाल्यो, मर्मत गरिँदै

टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको प्रशासनिक भवनको दोश्रो तल्ला प्रयोगमा नआउँदै जीर्ण बनेको छ । नवनिर्मित भवनको दोश्रो तल्लाको छट वर्षामा ठाउँठाउँमा चुहिने गरेकाले मर्मतको काम थालिएको छ ।

आर्थिक वर्ष २०७७।०७८ को असार मसान्तमा मात्रै दोश्रो तल्लाको निर्माणको काम रौतहटको आर्यन कन्ट्रक्सन, राजपुरले गरेको थियो । निर्माणकै बेलादेखि भवन ठाउँठाउँमा चुहिने गरेकाले मर्मत गर्न लागिएको गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादवले बताए ।

Sponsored

दोश्रो तल्लामा कार्यालयको थप शाखा व्यवस्थापन गर्न आवश्यक भएकाले चुहिन लागेको भवनको मर्मत गर्न लागेको हो । मर्मतको लागि गाउँपालिका कार्यालयको २९ पुसमा बसेको कार्यपालिका बैठकले निर्णय गरेको हो ।
इन्जिनियर यादवका अनुसार छत मर्मतका लागि भ्याटसहित ५ लाखमा कोटेशनमा आर.के. बिल्डर्सलाई दिइएको छ । ‘वाटरप्रुफ केमिकल राखेर डेढदेखि दुई ईन्चसम्म ढलान गरेर मर्मत गर्ने काम गर्न लागिएको छ’ इन्जिनियर यादवले भने ।


तत्कालिन गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखाअधिकृत सुमन पुरीको सेटिंगमा प्रशासनिक भवनको दोश्रो तला थप्न ५९ लाख ९९ हजार १७२ रुपैयाँमा आर्यन कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो ।

जथाधभावी छत र वालसम्म बनाएको सो कम्पनीलाई पालिकाले ५७ लाख १८ हजार ५७९ रुपैयाँ भुक्तानी दिएको थियो । ठाउँठाउँमा छतको लेभल मिलेको छैन । सेटिंगमा ठेक्का लगाएर मापदण्ड विपरीत जथाभावी भवन निर्माणको काम भएकाले प्रयोगमा नआउँदै भवन चुहिरहेको स्थानीय दिपलाल साहको दावी छ ।
प्रशासनिका भवनको दोश्रो तल्लामा पलास्टर र फिनिसिङको काम भने बर्तमान गाउँपालिका अध्यक्ष रामअशिष महतोकै पालामा भएको हो ।

Sponsored

यो भवनका अलावा त्यति बेला आर्यन कन्ट्रक्सनलाई नै सेटिंगमै गाउँपालिकाको कार्यालय अगाडि वडा नं. ४ मा महादेव मन्दिर, वडा नं. —१ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे भवन, वडा नं.–२ को श्रीजनप्रिय माविको आठ कोठे भवन लगायत एक दर्जन भन्दा बढी योजना पालिकाले दिएको थियो । जस मध्ये अधुरा छाडेका केही योजना वर्तमान अध्यक्ष महतोले काम गराएका छन् ।
मापदण्ड विपरीत जथाभावी काम गरेकाले अझैपनि लक्ष्मी माध्यमिक विद्यालयको चारकोठे भवन र महादेव मन्दिर अलपत्र छन् । ती योजनाहरुमा हात हाल्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी डराइरहेका छन् ।

प्रशासनिक भवनकै पहिलो तल्लाको भुक्तानीमा तत्कालीन पालिका अध्यक्ष क्षेत्री ८ लाख रुपैयाँ घुस लिँदा १८ फागुन २०७७ मा अख्तियारको फन्दामा परेका थिए । अख्तियारले रंगेहात समात्न पछ्याएपछि घुसको आठ लाख रकम फालेर गाडीबाट हाम फालेर उनी फरार भएका थिए । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीकै सहयोगमा उनी अख्तियारमा हाजिर भएर पालिकामा पुनः फर्केका थिए । घुस मागेको, लिएको भिडियो, कल रेकर्डसहित प्रमाण छँदा पनि ठूलाबडाकै सेटिंगमा अख्तियारले उनको फाइल तामेलमा राखेको अख्तिर श्रोतको दावी छ । यो विषयमा बुझ्न खोज्दा अख्तियारका सह प्रवक्ता देवी प्रसाद थपलिया उजुरकर्ताले निवेदन दिए मात्र भन्न सक्ने प्रतिक्रिया दिए ।

अझैसम्म अनुसन्धानको नाममा उनीमाथि मुद्दा नचलाएर उन्मुक्ति दएको भन्दै अख्तियारले पैसा खाएर उनलाई छाडेको स्थानीयको आरोप छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जोशीले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हुँदा आव ०७३÷७४ मा फर्निचर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ साउन २०७८ मा विशेष अदालतमा ४ लाख ४७ हजार ५०० बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता उनी निलम्बनमा छन् ।

तत्कालिन पालिका अध्यक्ष र प्रमुख प्रशासकीय जोसीमाथि आ.व.२०७७।०७८ मा सडकबत्ती प्रयोजनको लागि करोडौंको सोलार खरिदमा अख्तियारमा उजुरी परेको छ । त्यसमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । तत्कालिन लेखा अधिकृत सुमन पुरी अझै गाउँपालिकामै छन् । पहिलादेखि नै अनियमितता जन्य काममा पटक पटक मुछिएका पुरी बर्तमान गाउँपालिका अध्यक्ष महतोको विश्वास पात्र बन्न सफल छन् । अनियमित काम गरेर लाभ पाउन लेखाअधिकृत सहज भएकोले उनलाई पालिका अध्यक्ष महतोले पनि अंगालेको कार्यालय श्रोतको दावी छ ।

‘लेखाअधिकृत पुरी जसरी तत्कालिन गाउँपालिका अध्यक्ष राउतको प्यारो कर्मचारी थिए । अहिले त्यसरी नै वर्तमान पालिका अध्यक्ष महतोको पनि भएका छन् । पटक पटक अनियमितता काण्डमा बद्नाम लेखाअधिकृतलाई अंगालो हाल्नुको कारण के हो ? उनीहुँदा योजनाको सेटिंग गर्न सजिलो र अनुचित आर्थिक लाभ लिन सजिलो छ’ एक कर्मचारी भन्छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *