धुलिखेल अस्पतालमा सुत्केरी मृत्युको कारण थाहा हुन सकेन, थप अध्यन भइरहेको छ : प्रवक्ता देवकोटा
टुडेपाटी-
काठमाडौं, जेठ ३ गते ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्युको कारण थाहा हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्युबारे विवरण लिने काम भइरहेको जानकारी दिए । उनले भने, ‘यस विषयमा विवरण लिने काम भइरहेको छ, थप परीक्षणहरु भइरहेको छ । थप जानकारी आएपछि कोरोनाको कारण हो वा होइन भन्ने कुराको पुष्टि हुन्छ ।’
देवकोटाका अनुसार ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिला २४ वैशाखमा सुत्केरी भएकी थिइन् र भोलिपल्ट डिस्चार्ज भएर सिन्धुपाल्चोक गएकी थिइन् ।
तर, घर पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको देवकोटाले बताए ।
Sponsored
धुलिखेल अस्पतालमा स्रोतले भने उनको शरीरमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।
उनमा कोरोनाको लक्षण देखिएपछि अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । पुनः पुष्टिका लागि नमुना राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। साथै पुष्टि गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको छ ।
महिलामा ज्वरो, खोकी देखिएको र सुत्केरी पश्चात धेरै रक्तश्राव भएको उनका आफन्तले जानकारी दिएका छन् ।
अहिले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ ।
मृतक महिलाको बच्चा धुलिखेल अस्पतालमै रहेको र उनमा पनि संक्रमण रहे नरहेको एकिन गर्न नमून संकलन गरिएको छ ।