TodayPati

स्वाभिमान दिवसमै हल्लियो मधेश सरकार, सत्ता गठबन्धन भित्रै भाडभैलो

टुडेपाटी-
जनकपुरधाम, माघ ४ गते ।

३ माघ २०७९ मा प्रदेशसभाबाट ‘मधेश प्रदेश’ नामाकरण भएको अवसरमा बुधबार मधेश सरकारले स्वाभिमान दिवस तथा एकवर्षे उपलब्धि सार्वजनिकी करण कार्यक्रम आयोजन गर्यो । तामझामका साथ बिहान ११ बजे राखेको उपलब्धि सार्वजनिकीकरण कार्यक्रम जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभा हलमा झण्डै दुईघण्टा ढिलो सुरु भयो । प्रदेश सरकारका सबै मन्त्री उपस्थित मञ्चबाट मुख्यमन्त्री यादवले आफ्नो एक वर्षको उपलब्धिको २२ पृष्ठ लामो फेहरिस्त पढेर सुनाए ।

संचारकर्मीहरु मुख्यमन्त्रीसंग जिज्ञासा राख्न थाले । त्यही बेला बाहिरबाट एकाएक कार्यक्रममा एक हुल मानिस नाराजुलुस गर्दै पसे । ‘साईकल चोरलाई कारबाही गर, भ्रष्टाचारी सरकार मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गर ….’ यी नाराहरु जोडजोडले लगाउँदा हल नै अशान्त भयो । कार्यक्रम नै बिथोलियो । मुख्यमन्त्री अक्क नबक्क भए ।

Sponsored

त्यसरी आक्रमक रुपमा नाराबाजी गर्ने समूह कुनै प्रतिपक्षी थिएनन् । सत्ता गठबन्धन भित्रकै जनमत पार्टीका नेता कार्यकर्ता थिए उनीहरु । त्यतिबेला जनमतका दुई मन्त्री शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह मंचमै आसन ग्रहण गरेका थिए । प्रदर्शन समूहको नेतृत्व गरेका थिए जनमतका केन्द्रीय सचिव विपी साहले ।


करिब तीन मिनेटपछि हुल प्रदर्शन गर्दै बाहिर निस्के । अनि मुख्यमन्त्री यादवले ‘साइकल काण्ड हमारे पालामे थोरही न हुवा है’ (साइकल काण्ड हाम्रो पालामा भएको थिएन)’

मंचमै बसेका जनमतका मन्त्रीमाथि मुख्यमन्त्रीले प्रश्न वर्षाए ‘सरकार भ्रष्ट छ भने जनमत किन सरकारमा बसेको ? सरकार छाडे भयो नी ?’
जनमत र जसपाबीचको तिक्तता नयाँ होइन । उपलब्धि सार्वजनिकी कार्यक्रममा जनमतले देखाएको व्यबहारले जसपा थप चिढिएको छ । यसले जसपा र जनमतको बिबाद उत्कर्षमा पुगेको आकलन गर्न कठिन छैन ।

Sponsored

जसपाका अर्थमन्त्री संजयकुमार यादवले जनमतले देखाएको गैर राजनीतिक तथा अनुशासनहीन चरित्रलाई आफूहरु गहिरो रुपमा लिएको बताए ।
‘जुन विषयसंग अहिलेको सरकारलाई सरोकारै छैन । यो छानविनको विषय उठाएर जनमतले गर्न खोजेको स्टन्टबाजी विलकुलै गैर राजनीतिक चरित्र हो । उदण्डताको चरम सीमा हो । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं । गठबन्धनमा छलफल गरी कुनै ठोस निष्कर्ष निकाल्छौं’ मन्त्री यादवले भने ।

घटनाक्रमपछि हामीले जनमतका संसदीय दलका नेता समेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवसंग मुख्यमन्त्रीले नै गरेको प्रश्नको जवाफ बुझ्ने प्रयास गर्यौ । ‘यो गठबन्धनको सरकार हो । कसैको एकलौटी सरकार होइनन नि ! जहिले गठबन्धनबाट हट्छौं सरकारबाट पनि रहँदैनौं’ मन्त्री यादवले भने ‘मुख्यमन्त्रीले सबैको सहमतिमा सरकारको काम अघि बढाउनु पर्छ । तर कुनै सरसल्लाह लिँदैन । जनतको म्याण्डेड छ जनमत सरकारमा रहोस् । राम्रो काम गरिरहेका छौं । गलत गर्छ भने विरोध गर्नुपर्छ ।’

यधपी गठबन्धन सरकारमा हुने भ्रष्टाचारको जवाफदेही जनमत पनि हुने उनले स्वीकारे ।

जनमतले आज देखाएको ब्यबहारलाई राजनीतिक वृतमा दोहोरो चरित्र देखाएको चर्चा छ । राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा पनि सरकारमा भएर पहिचान कायम गरेको दिनमा जनमतले गरेको क्रियाकलापलाई द्वेध चरित्रको सज्ञा दिन्छन् ।

‘यदि जनमत सरकारमा नभएको भए । त्यो घटना ठिकै हुन्थ्यो होला । तर धेरै संघर्ष पश्चात मधेश पहिचान कायम भएको दिनमा यसरी गर्नु गैर राजनीतिक चरित्र हो । राजनीतिक अराजकता हो’ उनले भने ‘सिके राउत जस्तो वौद्धिक व्यक्तिले नेतृत्व गरेको पार्टीमा पनि सुझबुझको अभाव । नागरिकलाई भ्रमित गर्ने दुस्प्रयास गरेको छ ।’
यदि सरकार भ्रष्ट छ भने त्यसको एउटा अंग जनमत पनि रहेकाले त्यसको जवाफदेही उसले पनि लिनु पर्ने उनको तर्क छ ।

तर, जनमतले सरकारमा भएर पनि गलत कामको विरोध गर्न नहुने कुन कानुनमा लेखिएको तर्क गर्छन् ।
‘सरकारमा भएपछि किन विरोध गर्न पाइँदैन । कुन कानुनमा लेखिएको छ ? कसरी यसलाई दोहरो चरित्र देखायो भन्न मिल्छ’ जनमतका केन्द्रीय सचिव विपी साहले तर्क गरे ।

मधेशमा जनमत र जसपाको सरकार निर्माणकै बेलादेखि सम्बन्ध चिसिदै गएको छ । एमालेसहितको गठबन्धनको सरकार मधेश प्रदेशमा बनेदेखि नै बेलाबेला जसपा र जनमतबीच लफडा हुने गरेको छ । त्यस बेलादेखि जसपा नेतृतवको सरकारले जनमतलाई पेल्ने क्रम अझै छाडेको छैन । सुरमा जनमतको रोजाइको सामाजिक विकास मन्त्रालय दिएन ।

उसको रोजाइकै भूमि व्यवस्था तथा कृषि मन्त्रालय खोसेर मुख्यमन्त्रीले एकीकृत समाजवादीलाई दियो । पछि सामाजिक विकास मन्त्रालय विभाजन गरी जनमतका महेश प्रसाद यादवलाई शिक्षा तथा समाज कल्याण मन्त्रालय दियो । पुनः असोज तेश्रो साता सल्लाह बिनै पुनः सो मन्त्रालयलाई समेत विभाजन गरी विना विभागीय मन्त्री रहेकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय दिए । मन्त्रालय विषयमा क्याबिनेटमा छलफल नै नगरी चोर बाटोबाट यसो गरेको मन्त्री यादवले गुनासो पोख्ने गरेका छन् । जनमतका मन्त्रीको कामबाट अतालिएर जसपाले पेल्ने तथा अपमानित गर्ने काम गरिरहेको मन्त्री यादवको तर्क छ ।

‘जमतका मन्त्रीले गरिरहेको राम्रो कामबाट जसपा अतालिएको छ । त्यस कारण बेलाबेला हामीलाई नै पेल्ने गरेको छ’ मन्त्री यादव भन्छन् ‘गठबन्धनको सरकार छ । तर कुनै किसिमको सरसल्लाह नगरी सरकारले मनपरी गरिरहेको छ’

जनमतका मन्त्रीको यो तर्कलाई जसपाका अर्थमन्त्री यादवले इन्कार गर्छन् । ‘गठबन्धनकै सहमति अनुसार सबैलाई व्यवस्थापन गर्न मन्त्रालय विभाजन र जिम्मेबारी हेरफेर गर्ने गरिएको छ । कुनै एक व्यक्ति वा दलको निर्णयले भएको हैन’ अर्थमन्त्री यादव भन्छन् ।

जसपा र जनमतबीचको विवाद यतिमै मात्रै सिमीत छैन । जनमत र जसपाबीचका घाउ २०७९ को सप्तरी क्षेत्र नं. २ को चुनाव देखि नै छ । जहाँ भारी मतान्तले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनमतका अध्यक्ष सिके राउतले पराजित गरे । त्यसपछि बारा २ बाट निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादवलाई आफू सांसद लड्न उपेन्द्रले उपराष्टप्रति बनाएर ठाउँ खाली गरेका थिए । त्यहाँ नेकपा माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहालाई भित्र्याएर जनमतले उम्मेदवार बनाएका थिए । जहाँ उपेन्द्रलाई पराजित गर्न गठबन्धन विरुद्ध सिके राउत आफै उम्मेदवार भए जस्तो भोँट माग्नेदेखि कुनै कसर बाँकी छाडेका थिएनन् । यधपी उपेन्द्र जिते । त्यसबेलादेखि झन् जनमत र जसपाको सम्बन्ध चिसिदै गयो । यधपी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दहाल प्रचण्डको कारणले यी दुई दल एक गठबन्धनबाट छुट्न सकेका छैनन् । तर, गठबन्धनको निर्णय विरुद्ध जनमत अडिने गरेका छन् । उसले अगामी राष्ट्रय सभा सदस्यको चुनावको लागि मधेश र लुम्बिनी प्रदेशमा एक एक जना आफ्नो छुट्टै उम्मेदवार उठाएको छ ।

स्वाभिमान दिवस मनाउन गठबन्धनमा भाडभैलो

एकवर्षे उपलब्धि सार्वजनिकी कार्यक्रमपछि सरकारले स्वाभिमान दिवस त्यही हलमा सुरु गरे । जसमा अध्यक्षता मुख्यमन्त्री यादवले आफै गरे भने प्रमुख अतिथि उपेन्द्र यादवलाई बनायो । सरसल्लाह नै नगरी उपेन्द्रलाई प्रमुख अतिथि बनाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलियो । यधपी काँग्रेस र माओवादी केन्द्रका मन्त्रीहरु स्वाभिमान दिवसमा बसिरहे । अन्य दलका मन्त्रीहरु एकएक गरी निस्किए ।

प्रमुख प्रतिपक्षी एमाले, सत्ता गठबन्धन घटक माओवादी केन्द्र, जनमत, लोसपा र एकीकृत समाजवादी मधेश प्रदेशस भामा छुट्टै कार्यक्रम आयोजन गरे । त्यहाँ अर्थमन्त्री संजयकुमार यादवले निधि भवनमै भइरहेको कार्यक्रममा सहभागि हुन आग्रह गर्न पुगेका थिए । तर, दलका नेताहरु मानेनन् ।
छलफल नै नगरी पार्टी केन्द्रीत कार्यक्रम सरकारले बनाएकाले छुट्टै स्वाभिमान दिवस मनाएको जनमतका मन्त्री महेश प्रसाद यादव बताउँछन् ।


३ माघ २०७८ मा तत्कालिन प्रदेश नं. २ नाम परिवर्तन गरी मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेकाले यस वर्षदेखि प्रदेश सरकारले स्वाभिमान दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *