सुदखोरको मिटरब्याजबाट सयौँ पीडितले गरे सर्लाहीमा प्रदर्शन
टुडेपाटी-
सर्लाही, माघ २५ गते ।
सर्लाहीका सुदखोरबाट पीडित नागरिकले शुक्रबार सर्लाहीमा प्रदर्शन गरेका छन् ।
उनीहरुले सदरमुकाम मलंगवामा विरोध प्रर्दनसहित जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
पीडितको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पत्र तत्काल प्रधानमन्त्रीलाई पठाइने जानकारी दिएका थिए ।
प्रदर्शनमा सहभागी हुन सुदखोरको मिटरब्याजबाट पीडित सयौँ सर्वसाधारण सदरमुकाम मलंगवा पुगेका थिए ।
पीडितको जुलुसमा राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान, नेकपाका नेता डाचाराज वाग्ले, कमल बुढाथोकी, अर्जुन पन्त, महिला नेतृ पदमा मोक्तान लगायत पनि सहभागी थिए ।
Sponsored
सुदखोर रामबाबु राय र सञ्जय रौनियारबाट सर्लाहीसहित तराईका विभिन्न जिल्लाका करिब १३ सय सर्वसाधारण पीडित छन् ।
एक महिनाअघि पीडितले राजधानी काठमाडौँ आएर आफ्ना समस्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबाहादुर थापा (वादल), प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालसहितलाई सुनाएका थिए ।
सुदखोर रायलाई प्रहरीले त्यतबेलै पक्राउ गरे पनि अर्का सुदखोर रौनियार भने फरार छन्। राय राजपाका नेता हुन् भने रौनियार बाबुराम भट्राई नेतृत्वको तत्कालिन जयाँ शक्तिका नेता हुन् ।
रौनियारको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।
रायविरुद्ध २८ जना पीडितले २० करोड ४४ लाख रुपैयाँबराबरको बिगो दावीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
प्रहरीले खोजी सुरु गरेपछि रौनियार भने भारततिर भागेका छन् । उनको भारतीय नागरिकतासमेत रहेको पीडितले बताएका छन् ।