बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ गते सुनाइने
टुडेपाटी-
जनकपुरधाम, पुस १३ गते ।
बलात्कार मुद्दामा क्रिकेट खेलाडी सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।
उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।