TodayPati

लागूऔषधको भुमरीमा फस्दै मधेश : सेवनकर्ताले नशामा गर्दै एकपछि अर्को क्रूर हत्या

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, पुस ११ गते ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा मावली घर बस्दै आएका ११ वर्षीय अदित्य ठाकुर ३० गते साँझ मधेश प्रदेशसभा नजिक मोबाइल चलाउँदै थिए । राति ८ बजेसम्म उनी घर फर्किएनन् । घरपरिवराले सोधखोज गरे । फेला नपरेपछि प्रहरीलाई जानकारी गराए । तत्कालै खोजविन गर्दैजाँदा घरभन्दा पर आदित्य रक्ताम्य र गम्भीर घाइते अवस्थामा फेला भेटिए । प्रादेशिक अस्पताल पुर्याउँदा उपचारको क्रममा आदित्य अन्तिम साँस फेरे ।

‘रक्ताम्य अवस्थामा भेटिएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं । उपचारकै क्रममा मृत्यु भयो’ डिएसपी रञ्जन अवाले भने । घटना लगतै प्रहरीले स्थानीय २६ वर्षीय संजय साह र २४ वर्षीय बादललाई पक्राउ गरे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आदित्यले मोबाइल हेर्न नदिएको निहुमा दुबै युवकले पर लगेर भाटा प्रहार गरी मरासन्न अवस्थामा छाडेर भागेको खुलेको छ ।
‘मोबाइल चलाएर बसिरहेका बालक आदित्यनिर दुबैजना पुगे । अदित्यलाई मोबाइल हेर्न देउ भन्यो । बालकले मानेनन् । त्यसै निहुमा दुबै युवकले बालकलाई समातेर केही पर लगेर बाँसको भाटा प्रहार गरे । मरासन्न अवस्थामा छाडेर भागेको वयान उनीहरुले दिएका छन्’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सुनाए ।

Sponsored

घटनाका बेला दुबैजना लागूऔषधको नशामा थिए । उनीहरु लागूऔषध सेवनकर्ता हुन् । लागूऔषधकै नशामा समान्य कुरामा बालबकको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा दुबै घटनाका अभियुक्त लागूऔषध सेवन कर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । ‘बालक र बालिका दुबै प्रकरणका आरोपी लागूऔषध सेवनकर्ता रहेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएका छ । थप अनुसन्धान हामी गरिरहेका छौं’ उनी भन्छन् ।

……..
मंसिर २७ गते साँझ धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव छिमेकीको मटकोर हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्के । तर राखी नफर्केपछि घरपरिवार रातभर सोधखोज गरे ।बिहानैदेखि तालिम प्राप्त कुकुरसहित प्रहरी र स्थानीयले खोजे । तर भेटिएन । बालिकाको हत्या भएको अनुमानसहित साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानीमा खोज्न दमकलेले पानी सुकाउँदा शव नग्न अवस्थामा भेटियो ।
‘हामी दिनभर खोज्यौं । तर साँझसम्म नभेटेपछि खाल्डोमै शव हुन सक्ने आशंकामा सकाउने काम गर्यौं । त्यसमै बालिकाको शव फेला भेटियो’ धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा भन्छन् ।
बलिकाको शव हेर्दा यौनांग छियाछिया, स्तनको भागपनि काटिएको । अत्यन्त निर्दयीतापूर्वक बलात्कार गरी हत्या गरेको बुझ्न कठिन थिएन । दृश्य हेर्दै र घटना सुन्दा जो कोहीको आङ सिरिङ्ङ हुन्थ्यो र हुन्छ । बलात्कार गरी बालिकाको हत्या गरेरै शव खाल्डोमा फालेको प्रहरीको प्रारम्भक अनुसन्धानबाट देखिएको धनुषा प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा शव भेटिएकै बखत स्थानीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको थियो । दुबैजना १८ वर्षभन्दा तलका रहेकाले नाम खुलाउन नमिल्ने धनुषाका डिएसपी अवाको भनाइ छ ।


यो जघन्य हत्याको मुख्य जड लागूऔषध देखिन्छ । पक्राउ परेका दुबै किशोर लागूऔषध सेवन कर्ता हुन् । एक प्रहरीका अनुसार मटकोरको बेला दुवै किशोर लागूऔषध र मादक पदार्थ सेवन गरेर मातिएका थिए । ठूलो लाउडिस्पिकरमा अत्यन्तै अभद्र अश्लिल गित बजिरहेको थियो । त्यही बेला मौका छोपी रथमा खेलिरहेकी राखीलाई दुबै किशोरले बेपत्ता बनाए । र बलात्कार गरी हत्या गरेर खाल्डोमा फालेको अन्ुन्धानमा देखिएको एक प्रहरी अधिकारीको भनाइ छ ।
‘नशामा आफूहरुले बालिकालाई बेपत्ता बनाएको र बलात्कार गरेर अन्त्यमा पोखरीमा फालेको दुबैजनाले बयान दिएका छन् । उनीहरु लागूऔषध सेवनकर्ता हुन् । एकजनाले यसअघि पनि अर्को अपराधको घटनामा संलग्न रहको पाइएको छ’ ती प्रहरी अधिकारीले सुनाए ।

Sponsored

…….
बालक आदित्यकै हत्या प्रकृतिको घटना करिब २ महिना अघि मात्र जनकपुरधाममै घटेको थियो । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित धानखेतमा कार्तिक ९ गते बिहान जनकपुरधाम– २० सोनापाडाका २४ वर्षीय रुपेश महरा मृत भेटिएका थिए ।
उनको हकत्या कुनै ठूलो बिबादको कारण वा योजनाबद्ध भएको थिएन । लागूऔषध सेवनपछि मोबाइल हेर्ने समान्य विवादमा साथीबाटै रुपेशको हत्या भएको धनुषा प्रहरीको निष्कर्ष थियो । हत्या अभियोगमा जनकपुरधाम–२४ सोनापाडाका २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरेर धनुषा प्रहरीले सार्वजनिक नै गरेको थियो ।


तीनैजना साथी एकदिन अघि टेम्पोमा चढेर जटही हुँदै सीमापारी भारतीय बजारमा गएर लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवनगरी जनकपुर फर्केका थिए । जानकीमन्दिर अगाडी हंसराज मिठाइ पसलमा मिठाइ खाने बेला हरिचन र रुपेशबीच मोबाइलमा गीत सुन्ने विषयमा समान्य विवाद भयो । राति करिब ९ बजेतिर घर फर्किने बेला विवाद हुँदै जाँदा बाटोमा भेटिएको बाँसको भाँटाले हरिचनले रुपेशको टाउकोमा बजारे । बढी नशामा लठ्ठिएका रुपेश धान खेतमै ढले । हरिचन र पवन घरतिर हिँडेका थिए । अनि समयमै उपचार नपाएर रुपेशको मृत्यु भएको थियो ।
‘हरिचन र पवनले चारचारवटा र रुपेश दश वटा प्रतिवन्धित नाइट्रोभ्याट ट्याबलेट खाएर झ्याप थिए । मोबाइलको समान्यविवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ’ तत्कालिन धनुषाका एसपी खड्काले पत्रकार सम्मेलनमा भनेका थिए ।

लागूऔषधकै कारणले जघन्य हत्या भएको मथिका यी तीन प्रतिनिधिमूलक घटना मात्र हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्ष २०८०।०८१ मा मात्रै धनुषामा ७ जनाको हत्या भएको छ । जसमा तीनवटा जघन्य हत्या घटनामा लागूऔषध नै प्रमुख कारक देखिएको छ ।
‘लागूऔषध चेक भएको हुँदैन । पृष्टभूमि मात्र बुझिएको हुन्छ । अस्तिको बालबालिका हत्या लगायत गम्भीर प्रकृतिको अपराधमा लागूऔषधकर्ताहरु नै बढी देखिन्छन्’ धनुषाका एसपी शर्मा भन्छन् ।
लागूऔषध समेतको कारणले मधेशमा हत्याको ग्राफ बढ्दो छ । चालु आर्थिक वर्ष २०८०।०८१ मा साउनदेखि मंसिरसम्म (पाँच महिना)मा धनुषासहित मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७९।०८० मा १०६ जनाको हत्याभएको थियो भने अर्थिक वर्ष आर्थिक वर्ष २०७८।०७९मा ९६ जनाको हत्याभएको थियो ।
हत्या, बलात्कार जस्ता जघन्य अपराधको मुद्दा लागूऔषध भन्दा ठूलो भएको र लागूऔषध प्रमाणित गर्ने कुरामा समस्या हुँदा तथ्यांका सो कुरा नखुलाउने गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोको तर्क छ । यधपी धेरै अपराधहरुमा लागूऔषध जोडिन गरेको उनको भनाइ छ ।

हत्या बाहेकका अपराधमा पनि लागूऔषध सेवनकर्ता धेरै

लागूऔषध सेवनकर्ता हत्या जस्ता अपराधसम्म मात्र सिमित छैनन् । बलात्कार, चोरी, डाँका, महिला हिंसा, घरेलु हिंसा जस्ता अपराधमा समेत उनीहरुको बढी संलग्नता रहने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ‘पछिल्लो समय फस्टाएको चोरी घटनामा ८० प्रतिशतभन्दा बढी लागूऔषध सेवनकर्ता नै रहेको देखिन्छ । २० प्रतिशत मात्र विपन्न वा गरिबीको कारण चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ’ एक अनुसन्धान अधिकृत सुनाउँछन् ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविन धितालका अनुसार प्रायः लागूऔषध सेवनकर्ता २५–३० वर्ष मूनिका हुन्छन् । ‘ड्रग्समा लागेपछि अल्लारे भएर हिड्ने । अभिभावक भन्दा टाढा हुने । चोरी, झग्डा, कुटपिट, ग्यांगफाइट जस्ता अपराधिक क्रियाकलाप गर्ने गरेको पाइन्छ’ एसपी धिताल भन्छन् ।

धेरै सवारीदुर्घटनामा पनि लागूऔध सेवनकर्ताको पृष्टभूमि देखिने गरेको छ । ‘सडक दुर्घटनामा ज्यान गुमाउनेदेखि लिएर गम्भीर घाइते हुनेहरुको पृष्टभूमि पनि लागूऔषध सेवनकर्ता देखिने गरेको धनुषाका धनुषाका एसपी मित्रबन्धु शर्मा बताउँन् ।

लागूऔषधले समाजमा बहुआयामिक असर पारेको उनको भनाइ छ । ‘लागूऔषधले पहिले आफूलाई बिर्गाछ । अनि अपराधमा संलग्न हुन्छ । पैसा चाहिन्छ । त्यसपछि चोरीचकारी र अपराध तिर लाग्छन्’ उनी भन्छन् । यसले घरपरिवार र समाज नै भाँडिदै गएको छ ।

मधेशमा तिव्रगतिमा बढ्दै लागूऔषध सेवनकर्ता, भाँडिदै परिवार र समाज

पुस १ गते दिउँसो सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परे । उनको मुखबाट फिज आएको थियो । शरीरमा कतै कुनै घाउखत थिएन । घटनास्थलको प्रारीम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको सर्लाही प्रहरीको निष्कर्श छ ।

घरपरिवारले पनि उनी पहिलादेखि लागूऔषध सेवनकर्ता थिए । लागूऔषध सेवन गर्न नै उनी सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको परिवारजन पनि स्वीकार्छन् । ‘पहिलादेखि नै ड्रग्स सेवन गथे । अस्तिा सीमा नजिक मृत भेटियो । प्रहरीले भन्यो लागूऔषध सेवनकै कारण मृत्यु भएको छ । हामीलाई पनि त्यस्तै लाग्यो’ मृतकका दाई पर्ने मो.कमरेश साह फकिरले सुनाए ।
उनका अनुसार मृतक शेषको घरपरिवारको अवस्था अत्यन्त दयनीय छ । बुबा जवार शेखको गत वर्ष निधन भयो । चार भाई बहिनी छन् । आमा र बहिनी न्यून ज्यालामा स्थानीयहरुमै ज्याला मजदुरी गरेर घरको जोहो गर्छन् । कमाउने उमेर हुनै लाग्दा इजरुल लागूऔषध सेवनमा फँसे । ‘इजरुल पनि कहिले काँही ज्याला मजदुरी गर्थे । थोरै भएपनि घरपरिवरालाई राहत हुन्थ्यो । तर मृत्यु भएपछि झन् घरको बिजोग भएको छ’ दाई पर्ने कमरेश भन्छन् ।

यो एक प्रतिनिधिमूलक घटना मात्र हो । यस्तै गरी लागूऔषधमा किशोर तथा युवाहरु पल्किदै जाँदा मधेशमा घरपरिवार भाँडिने परिवार धेरै छन् ।
आइतबार साँझ सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका ५ खैरबोना स्थित लहान ठाडी सडक खण्डबाट प्रतिबन्धित लागूऔषध सहित उदयपुर त्रियुगा नगरपालिका ९ सयपत्री रातोमाटेका १९ वर्षीय चुडामणी राई र वडा नं. १० का ३३ वर्षीय जीतबहादुर कटुवाल पक्राउ परे । सिरहा प्रहरीका अनुसार दुबैजनाको साथबाट खाइजोपाम ७०, फेरागन ७० र नुरफिन ७० गरी २१० एम्पुल बरामद भएको छ ।
लागूऔषधसहित युवकहरु पक्राउ पर्ने प्रक्रिया मधेशको दैनिकी जस्तो भइसकेको छ । परिवार र समाज तिव्र गतिमा लागूऔषधको दलदलमा फँसिरहेको मधेशमा पक्राउ पर्ने व्यक्ति र लागूऔषध बरामदको तथ्यांकले पुष्टाइरहेको छ ।

मधेश प्रदेशमा दैनिक सर्दर ३ जना व्यक्ति लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् । र यो क्रम निरन्तर बढिरहेको देखिन्छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा आर्थिक वर्ष २०७७।०७८ मा लागूऔषधसहित ९ सय ९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८।०७९ मा भने विगत वर्षका भन्दा २८४ जनाभन्दा बढी अर्थात् १ हजार २८५ जना व्यक्ति लागूऔषधसहित पक्राउ परे । आर्थिक वर्ष २०७९।०८० मा भने बढेर १ हजार ३०४ व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अहिले चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मूनिको रहेका छन् ।

उनीहरुबाट बरामद गरेको लागूऔषध गाँजा, ब्राउन सुगर, चरेस, अफिम, हिरोइन, ट्याब्लेट, बोतल र इन्जेक्सन परिमाणको तथ्यांक उतिकै ठूलो छ ।
चालु आर्थिक वर्षको पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ पीस बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधिमा प्रहरीले मधेश प्रदेशमा ३० विघा २ कठ्ठा अवैध गाँजा खेती नष्ट गरेको छ । सरदरमा मधेश प्रदेशमा दैनिक तीनजना लागूऔषधसहित पक्राउ पर्ने गरेको तथ्यांकले देखाउँछ ।

यसरी खुल्ला सीमा पारी भारतबाट लागूऔषध शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोराम लुकाएर ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् । यसलाई लक्षित गरी खासगरी २० उमेर समूलाई बढी मोटरसाइकलमा चेकजाँच बढाइएको उनको भनाइ छ ।

कुलतमा फँसेका लागूऔषध सेवकर्तालाई नै डिलरले विक्रीवितरण गर्ने माध्यम बनाउने गरेको लागूऔष नियन्त्रण क्षेत्रमा लामोसमयदेखि कार्यरत्त अजिम पाण्डे बताउँछन् ।
‘सुरुमा जब कुलतमा फँस्छन्, आमाबुबाले पैसा दिन्छन् । खान्छन् । तर पछि घरको आर्थिक अवस्था कमजोर हुँदै जाँदा आमाबुबाले पैसा दिन छाड्छन् । अनि उसले ड्रग्स खान गलत काममा, गलत बाटोमा लागेर अपराध गर्न थाल्छन् अथवा लागूऔष कारोबारी बनछन् । डिलर छुट्टै हुन्छ । अनि सेवनकर्तालाई विक्री वितरण सप्लाई गर्ने पात्र डिलरले बनाउँछ । प्रहरीले त्यस्तै सेवनकर्तालाई लागूऔषधसहित समातिरहेको हुन्छ ।’ उनी भन्छन् ।

नियन्त्रणप्रति उदासिन सरकार

लागूऔषध नियन्त्रणको क्षेत्रमा लामोसमयदेखि कार्यरत्त पुनर्जीवन नेपाल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार मधेश प्रदेशमा विभिन्न संस्थाले संचालन गरेको ३० भन्दा बढी सुधार (पुनस्र्थापना) केन्द्र छ । सुधार केन्द्रमा प्रायः आर्थिक अवस्था कमजोर भएकै घरपरिवारका मानिस हुन्छन् । २० प्रतिशत धनी र ८० प्रतिशत गरिब परिवरका हुन्छन् ।

‘सबैभन्दा बढी साथीभाई कै लहैलहैमा लागेर कुलतमा फस्छन् भने कतिपय परिवारिक माहोल र केही रमाइलोका लागि लागूऔषधमा लाग्छन् । मुख्य कारणहरु यही नै हो । सुधार केन्द्रमा एमबीबीएस, इन्जिनियर लगायतलाई पनि हामीले उपचार गरेका छौं । त्यसै अशिक्षा वा शिक्षाको कारणले भन्दा पनि रोगले कसलाई कति बेला छुन्छ भन्न सकिँदैन । यो एउटा रोग हो ।’

लागूऔषको दलदलमा तिव्रगतिमा फँसिरहँदा पनि यसप्रति राज्य र नेतृत्व उदासिन रहेको उनको गुनासो छ । ‘लागूऔषधको दलदलमा समाज फँस्दै छ । यो नियन्त्रणमा राज्यको सबभन्दा ठूलो भूमिका हुनुपर्ने हो । तर, यसप्रति राज्य, जनप्रतिनिधि, नेता, मन्त्री बेपरवाह छन् । यो नियन्त्रण गर्नुपर्छ भनेर कहिल्यै कुनै नेता वा जनप्रतिनिधिको भाषण सुन्नु हुन्न होला । यसलाई नियन्त्रण गर्न समयमै सरकार, परिवार, समाज लागायत सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ’ उनी सुझाउँछन् ।

उनका अनुसार २÷३ प्रतिशतलाई कुलतमा फस्ने बितिकै घरपरिवारले पुनस्थपना केन्द्रमा राख्छ भने ९७ प्रतिशले जबसम्म आमाबुबालाई पिट्दैन वा अपराधमा लाग्दैन । तबसम्म सुधार केन्द्रमा लग्दैनन् ।

लागूऔषध सेवनकर्ताको संख्या नियन्त्रण गर्न तथा फैलिन नदिन मधेशमा प्रहरीले ‘एन्टी ड्रग क्याम्पेन’ चलाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ४ हजार लागूऔषध सेवनकर्ताको पहिचान गरी परिवारलाई जानकारी गराएर कुलतमा फँसेकालाई मनोपरामर्श र पुनस्र्थापन गर्ने लक्ष्य अनुरुप कार्यक्रम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् । जिल्लामा जिल्ला प्रहरी कार्यालयमातहतका प्रहरी युनिटहरुले पनि विद्यालयहरुमा गएर लागूऔषधविरुद्ध सचेतना कक्षा संचालन गर्ने गरेको छ । धनुषाका एसपी शर्माले प्रहरीको सामुदायिक शाखाले लागूऔषधविरुद्ध नियमित रुपमा विद्यालयमा पुगेर त्यस उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर सचेतना कक्षा संचालन गरिरहेको बताए ।

तर जुन गतिमा लागूऔषध सेवनकर्ता बढिरहेका छन्, प्रहरीले मात्रै यो अभियान चलाएर मात्र सम्भव देखिँदैन । ‘प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्छ भन्ने बुझाइ नै गलत हो । अभिभावक, स्थानीय सरकार समाज सबै मिलेर मात्र लागूऔषध नियन्त्रण सम्भव छ’ प्रदेश प्रहरीका प्रवक्ता महतो भन्छन् ।

महिला अधिकारकर्मी समेत रहेकी आधिवक्ता रेखा झा आफ्नो छोराप्रति अभिभावकको निगरानी र स्थानीय सरकारले यसप्रति चाँसो लिनुपर्ने सुझाउँछिन् ।
‘अभिभावकले छोराछोरीलाई पैसा नदिएर टिफिनमा खाजा दिनुपर्छ । पैसा दिँदा एकदुईदिन साथीको लहैलहैमा लागूऔषध चाख्छन् । राम्रो लागेपछि आफै कुलतमा फँस्छन् । यसले घरपरिवार मात्र होइन समाज नै बर्बाद भइरहेको छ’ उनी भन्छिन् ।
स्थानीय सरकाले विद्यालयको वपरपारि विक्रीवितरण हुने सुर्तिजन्य पदार्थमा रोक लगाउनु पर्ने उनको तर्क छ । कक्षा ८ देखि नैतिक शिक्षा विद्यार्थीलाई दिनुपर्ने, ‘लागूऔषध के हो, कसरी यसले भविष्य र समाज कसरी विगार्छ, अपराध गराउँछ र अपराध गर्दा के परिणाम हुन्छ त्यसको कानुनी ज्ञानपनि दिन जररुरी छ । यसले नै बालबालिकादेखि उनीहरु सचेत हुन्छन्’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *