TodayPati

राष्ट्रिय महिला टी–२० क्रिकेटमा गण्डकीलाई २७ रनले पराजित गर्दै मधेश विजयी

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा मधेश प्रदेशले पहिलो जित निकालेको छ । सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई २७ रनले हराउँदै पहिलो जित निकाल्न सफल भएको हो । यसअघिका तीनवटै खेलमा मधेश पराजित भएको थियो ।

सोमबारको खेलमा मधेशले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको थियो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरेकी हुन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् ।

Sponsored

सरस्वतीकुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २० ओभरमा ७ को विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । मधेशका लागि ओपनर पूजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् । सरस्वतीकुमारी चौधरीले २६ रन बनाइन् भने प्रतिमा साहले १० रन बनाइन् । मधेशले २२ रन अतिरिक्त पाएको थियो ।

गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन् । कुसुम गोदारले १ र सृष्टि जैशीले १÷१ विकेट लिए । चौथो चरणको यो खेलसँगै गण्डकी र मधेशको खातामा १÷१ जितसहित समान २ अंक छ । नेट रन रेटका आधारमा गण्डकी छैटौँ स्थानमा छ भने मधेश रनरेटका आधारमा सातौँ स्थानमा छ । यसअघिका खेलमा मधेश बागमती प्रदेश, विभागीय टिम एपीएफ र कोशी प्रदेशसँग पराजित भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *