महोत्तरीमा प्रहरी जवानलाई गोली लागेको घटनामा असई बच्चा यादव निलम्बित
टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।
महोत्तरीमा प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएका छन् । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको रुपमा कार्यरत्त थिए । तर घटना बाहिर आएपछि उनलाई तीनदिन अघि नै चौकी इन्चर्जको जिम्मेबारीबाट हटाइएर जिल्ला तानिएको छ ।
आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डिआजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए । शनिबार महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।
प्रहरी स्रोतका अनुसार कात्तिक ३० गते राति असई यादव डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको रात्री भोज खाएर फर्केपछि पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए । एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खर गरेका थिए ।
घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो । लगतै महोत्तरी प्रहरीले असई यादवलाई चोकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको थियो । घटना छानबिन गर्न महोत्तरी प्रहरीले छानविन टोलि गठन गर्ने तयारी गरेको छ । हिजो मात्र निलम्बन भएकाले आज वा भोलिमा छानबिन टोली गठन गर्ने महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७÷८ जनाको समूहले लुटपाट गरेको थियो । त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो । असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा शिविलमा खटेकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको स्रोतको दावी छ ।
।
स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।
Sponsored