मधेश प्रदेशः ४० दिनदेखि आन्दोलनमा रहेका शिक्षकको निधन
टुडेपाटी–
बारा, मंसिर ९ गते ।
बाराको सिम्रौनगढ नगरपालिका ८ कचोर्वा आधारभूत विद्यालयमा कार्यरत एक शिक्षकको निधन भएको छ ।
सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय नरेन्द्र पराजुलीको शुक्रबार निधन भएको हो । पराजुली गत चैतदेखि त्यस विद्यालयमा कार्यरत थिए ।
शिक्षक सेवा आयोगबाट नाम निकालेपछि उनी त्यस विद्यालयको दरबन्दीमा थिए ।
उनका १ छोरा सिन्धुपाल्चोकमा छन् । पराजुली पत्नीसहित कचोर्वामा बस्दै आएका थिए । केही महिनाअघि पत्नी वैदेशिक रोजगारीमा गएपछि उनी एक्लै कोठामा बस्दै आएका थिए ।
साँझ उनको शव कचोर्वा नयाँ बजारमा फेला परेको हो ।
Sponsored
घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनास्थलमा डेढ महिनादेखि आन्दोलनमा रहेका शिक्षकहरू र स्थानीयको भीड लागेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले शिक्षकको निधनबारे अनुसन्धान भइरहेको बताए ।
नगरपालिकाबाट पाँच महिनादेखि तलब नपाएर नगरपालिकाविरूद्ध आन्दोलनमा रहेका शिक्षकहरू घटनास्थलमा पुगेका छन् । तलब नपाएर शिक्षक पराजुली केही समयदेखि निकै तनावमा रहेको प्रधानाध्यापक रामायण साहले बताए ।
गत ४० दिनदेखि १ सय ९५ शिक्षक तलबका लागि आन्दोलनमा छन् । दसैं, छठ, तिहारमा पनि उनीहरूले तलब पाएका छैनन् ।
शिक्षक संघर्ष समितिका संयोजक उमाशंकर यादवका अनुसार शिक्षक पराजुली आफूहरुसितै आन्दोलनमा थिए ।