TodayPati

जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु घटना प्रहरीकै रोहबरमा १० लाखमा मिलापत्र, उठ्यो लास

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहवरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको खुलेको छ । बिहीबार मध्यराति प्रहरीकै रोहबरमा मृतक परिवार र हस्पिटल पक्षबीच १० लाख रुपैयाँ क्रियाखर्च दिने सर्तमा सहमति भएको हो ।

वुधबार वान्ता भएर स्वास्थ्यमा समस्या देखिएपछि बालक धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेलाई हस्पिटल भर्ना गरिएको थियो । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज गरेपछि मूलगेटमा पुगेकै बेला बालक सिकिस्त भएर मृत्यु भएको थियो ।

Sponsored

उपचारमा लापरबाहीको कारण बालको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानविन गरी दोषी डाक्टर र हस्पितललाई कारबाही, आवश्यक क्षतिपुर्तिको माग गरेको थियो ।
तर मध्यराति क्रिया खर्च वापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त वीरबहादुर रयासलीले जानकारी दिए । ‘क्रियाखर्च वापत १० लाख रुपैयाँ हस्पिटलले दियो । राति नै हामी शव बुझेर आयौं’ हजुरबा पर्ने मिथला नगरपालिका २ नक्टाझिजका रसायलीले भने ।

मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपुर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल शिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो । तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे । मृतक बालकको ठूलबुबा टिकाराम कालिकोटे आइसकेपछि उनीहरुकै उपस्थितमा मिलापत्र भएको सुनिलको भनाइ छ ।
घटनापछि मिल्न र लास हस्पिटलबाट उठाएर लग्न प्रहरीले दबाब बनाएको थियो । मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यशाखाका प्रहरी निरीक्षक विनय कुमार सिंहको कमाण्डको टोलि त्यहाँ उपस्थित रहेका थिए ।

धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले पनि राति नै मिालपत्र गरी मृतक परिवार शव लिएर घर पुगेको बताए । यधपी के सर्तमा मिलापत्र भयो भन्ने कुरा प्रहरी निरीक्षक नै त्यहाँ हुँदा भएकोले उनैलाई थाहा भएको डिएसपी अवाको भनाइ छ ।

Sponsored

‘इन्सपेक्टर सिंह मध्यराति नै मृतक परिवार र हस्पिलबिच सहमति भयो भनेर भन्नु भयो । राति नै मृतक परिवारले शव बुझेर घर फर्कियो । तर के के सहमति भयो भनेर बुझेकै छैन । इन्सपेक्टर साहब सुत्नु भएको छ, बुझ्नै पर्छ’ डिएसपी अवाले भने ।
वार्तामा बस्नु अघि नै मृतक बालकका ठूलबुबा टिकारामले राति साढे ८ बजे आफूलाई हस्पिटलमा इन्सपेक्टरले बार्तामा बस्न दबाब दिइरहेको र हातपात गर्न खोजेको गुनासो यस सम्वादातालाई फोन गरेर पोखेका थिए ।

त्यसअघि साँझ हस्पिटल अगाडी मृतक परिवारले टायर बालेर प्रदर्शन गर्दै ढंगामुढा गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले मृतक बालकका मामासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यहाँ उपस्थित मृतकका आपन्तका अनुसार प्रहरीले पहिले वार्तामा बसेर सहमति गरेर शव अस्पतालबाट उठाए मात्र पक्राउ गरेकालाई छाड्ने सर्त राखेका थिए । तर, पहिला पक्राउ परेकालाई छाडे मात्र वार्तामा बस्ने सर्त मृतक परिवारले राखेपछि प्रहरीले करिब १० बजे राति छाडेको थियो । त्यसपछि हस्पिटल र मृतक परिवार वार्तामा बसेको थियो । प्रहरीले भने जसरी पनि सहमति गर्नु पर्ने दबाब दिएको थियो ।

जनकपुरको मुरलीचोकमा २०७८ फागुनदेखि डा. विजय राउतले संचाल गरेको यो हस्पिटल हालसम्म संचालन अनुमति लिएको छैन । विशिष्टिकृत हस्पिटलको रुपमा संचालनमा रहेको यो हस्पिटलको मापदण्ड पुरा नगर्दा स्वास्थ्य सेवा विभागले संचालन स्वीकृति दिन अस्वीकार गर्दै आएको छ । चर्को उपचार शुल्क लिने यस हस्पिटलमा क्षमता भन्दा बाहिर गएर बिरामीको जवरजस्ती उपचार गर्दा पटक पटक मृत्यु, शुल्क बुझाउन नसक्दा बिरामी र शवलाई बन्धकसम्म बनाएको घटनाहरु हुने गरेको छ । तर कुनै पनि सरकारी संयन्त्रले हालसम्म कारबाही गरेको छैन ।

पछिल्लो समय जनकपुरको निजी हस्पिटलहरुमा हुने चरम लापरबाहीको घटनमा प्रहरी प्रशासनले छानविन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गराउने गरेका छन् । दोषी उम्काउनेमा खेलमा प्रहरी प्रशासन बढी सक्रिय हुने गरेका छन् । रकम र कमिसनको प्रभावमा प्रहरी प्रशासन एवं सम्बन्धित निकायले कुनै कारबाही नगरेको आमजनगुनासो छ ।

सम्बन्धित समाचार

जनकपुर न्यूरो हस्पिटलमा डिस्चार्ज गरेकै बेला ४ वर्षीय बालकको मृत्यु, परिवारजन धर्नामा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *