सिरहामा यसवर्ष पनि भव्य रुपमा ‘कमलदह’ मेला लाग्दै
टुडेपाटी
जनकपुरधाम, मंसिर ६ गते ।
सिरहाको मिर्चैया नगरपालिका–९ मा यसवर्ष पनि भव्य रुपमा कमल दह मेला लाग्ने भएको छ । पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा यसवर्ष लाग्ने भव्य ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ ।
दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेलाको भोलि बिहीबार उद्घाटन हुँदैछ ।
मेला उद्घाटन गर्न भोलि दिउँसो १ बजे मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह आउँदैछन् । मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानीलगायत सबै व्यवस्थापन मिलाएको छ ।
मेलामा विगत झैँ यसपालि पनि नेपाल र भारतका नाम चलेका पहवानहरूको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिनेछन् ।
पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने मूख्य धार्मिक जनविश्वास रहिआएको छ । जसकारण कमलदहमा हरिबोधिनी एकादशीका दिन नेपालका विभिन्न ठाउँहरुबाट लाखौंको संख्यामा श्रद्धालुहरु आउने गर्छन् ।
Sponsored