मधेश प्रदेश : विङगरको ठक्करबाट छठ ब्रतालुको मृत्यु
टुडेपाटी-
सर्लाही, मंसिर ४ गते ।
सर्लाहीमा विङगरको ठक्करबाट एक छठ ब्रतालुको मृत्यु भएको छ ।
सोमबार बिहान हरिवन नगरपालिका-९ नोचास्थित छठघाटमा छठपूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको हो ।
लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको मधेश प्रदेश-०३-००१ ज ०३४२ नम्वरको विङ्गरले बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवनमा लगेकोमा चिकित्सकले मृत घोषणा गरे ।
गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवल्दार समेत घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवल्दार सुवोध कुमार यादव घाइते भएका हुन् ।
बाँया खुट्टामा चोट लागेर घाइते भएका ट्राफिक प्रहरी हवल्दार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात लालगढ अस्पताल, धनुषा रेफर गरिएको हरिवन प्रहरीले जनायो ।
Sponsored
विङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेश- ०२-०३८ प ०३११ नम्वरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।