बटेश्वर गाउँपालिका समृद्ध बनाउन जनप्रतिनिधिसंग मन्थन
टुडेपाटी-
जनकपुरधाम, मंसिर २ गते ।
जनताको चाहना र आवश्यक्ता अनुसार विकासको काम गरेर बटेश्वर गाउँपालिका समृद्ध बनाउने जनप्रतिनिधिहरुले प्रतिवद्धता गरेका छन् । बटेश्वर युवा संजालले शुक्रबार आयोजना गरेको ‘बटेश्वर मन्थन’ कार्यक्रममा सवाल जवाफमा पालिकाअध्यक्ष लगायत जनप्रतिनिधिले पालिका समृद्धिको लागि कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिने प्रतिवद्धता गरेका हुन् ।
पालिका अध्यक्ष रामअशिष महतोले सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव तथा अपरादर्शीताको कारण धारासायी भएकाले त्यता तर्फ काम गरिरहेको बताए ।
‘दरबन्दी अनुसार शिक्षक नहुँदा र मनपरी तरिकाले शिक्षक भर्नाको राजनीतिले पठनपाठन भद्रगोल थियो । स्कुलहरुले पालिकालाई हिसाब दिन मानेको छैनन् । अब दरबन्दी अनुसारको शिक्षकको पदपुर्ति गरेर सुधार गर्छौ’ उनले भने ।
स्वास्थ्य चौकीमा नागरिकले निःशुल्क पाउनुपर्ने औषधी सकेसम्म उपलब्ध गराउने गरेको उनको दावी छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सिँचाई तथा विद्युतीकरणको काम गरिरहेको बताउँदै उनले अगामी तीनवर्षमा शिक्षा र कृषिमा देखिएका समस्या निदान गर्ने उनले प्रतिवद्धता गरे ।
वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतोले कृषि क्षेत्रमा जंगली जानवरको आतंकले हुने क्षति नियन्त्रण गर्न उपायको खोजीमा रहेको बताए । अगामी दिनमा कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामै राखेर बजेट विनियोजन गरी काम गर्ने उनले प्रतिवद्धता जनाए ।
Sponsored
वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतोले पछिल्लो समय लागूऔषध सेवनमा लागेर कुलतमा फस्ने युवाहरुको संख्या बढ्नु चिन्ताको विषय रहेको बताए । रोकथामको लागि सचेतना मूलाक कार्यक्रम विद्यालयदेखि समाजिक स्तरसम्म गर्नुपर्ने योजना बनाउने उनको भनाइ थियो ।
वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहाले पालिकालाई समृद्ध बनाउन सबैभन्दा पहिले जनप्रतिनिधि इमान्दार हुनु पर्ने धारणा राखे ।
वडा नं. ४ का वडाध्यक्ष निरज कार्कीले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गरे । विगतमा आफ्नो वडामा देखिएका शिक्षा क्षेत्रको व्यतिथि अगामी दिनमा निराकरण गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादवले आफ्नो वडामा सबभन्दा बढी सिमान्तकृत तथा दलित समुदायको बसोबास रहेकाले उनीहरुको जीवनस्तर उकास्ने तर्फ लाग्ने बताए । बालबालिका पढाइ छाड्दा अभिभावकले वास्ता नगरेकाले सचेतनामूलक कार्यक्रम गरी जागरुक बनाउने उनको भनाइ छ । पालिकाका वुद्धिजिवी नागरिकसंग सहकार्य गरेर गुरु योजना बनाए मात्रै पालिका समृद्ध हुने उनले बताए ।
बटेश्वर मन्थन कार्यक्रममा छुट्टा छुट्टै तीनवटा सत्रमा जनप्रतिनिधि तथा एउटा सत्रमा पालिका भित्रकै शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रका वुद्धिजिवीसंग बहस गरिएको थियो । कार्यक्रममा सहभागि नागरिकहरुले आफ्ना जनप्रतिनिधिसित सवालजवाफ गरेका थिए ।
दिपावली तथा छठपर्वको अवसरमा संजालले आयोजन गरेको बटेश्वर मन्थनका साथै रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रगत समूह परीक्षण समेत आयोजन गरेको थियो । संजालका संयोजक सरोजकुमार महतोका अनुसार ४२ जनाले रक्तदान गरेका छन् । निःशुल्क स्वास्थय शिविरमा ९५ जनाले स्वास्थय लाभ लिएको संजालका प्रतिनिधि जयकृष्ण महतोले जानकारी दिए । १०५ जनाले रक्तसमुह परिक्षण गराएका थिए ।
बटेश्वर मन्थन लगायत कार्यक्रम सफलरुपमा सम्पन्न गर्न गर्न दर्जन बढी युवाहरु सक्रिय भूमिका निर्वाह गरेका थिए ।