TodayPati

महोत्तरीमा बन्दुकको आडमा ५० लाख भन्दा बढीको लुटपाट

रासस-
महोत्तरी, कार्तिक २० गते ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् । 

Sponsored

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् । डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।

डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले जानकारी दिए । अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए ।

घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उहाँले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *