प्रहरी दिवसमा मुख्यमन्त्री यादवको आग्रह- ‘नागरिकको भरोसा टुट्न नदिनुस्’
टुडेपाटी-
जनकपुरधाम, असोज ३० गते ।
मधेशका मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।
‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, उनले प्रहरीहरुलाई आग्रह गर्दैै भने ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले प्रहरीको काम एकदम गाह्रो भएको बताए ।
नागरिकको सुरक्षा तथा अमन चैनका लागि घामपानी केही नभनी खटिराखेका प्रहरीको निस्वार्थ सेवालाई उनले सलाम गरे ।
न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने बताउंदै उनले गीतामा भगवान श्रीकृष्णको भनाई उल्लेखगर्दै भने ‘असल मानिसको रक्षा र दुष्टलाई दंड नै प्रहरीको आदर्श हुनुपर्छ ।’
‘तपाईको डंडा र ओहदाले कुनै पनि निर्दोष मानिसको आत्मा कल्पिने काम नहोस्’ मुख्यमन्त्री यादवले आग्रह गर्दै भने ।
सोही अवसरमा प्रदेशका गृह, संचार तथा कानुन मंत्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिए ।
यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गरे । उनले विविध आरोह अवरोहका बीच कर्तव्य पथमा शहीद भएका अमर प्रहरीहरुप्रति श्रद्धांजलि एवं परिवार जनमा समवेदना व्यक्त गरे ।
शहीद परिवार जनलाई सम्मान गरिएको सो अवसरमा प्रहरीका सन्तानहरुलाई पुरस्कृतसमेत गरिएको थियो