TodayPati

इजरायलबाट २५३ जना नेपाली वायु सेवा निगमको विमानबाट स्वदेश फर्के

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरु गए राति १ बजे स्वदेश फर्किएका हुन् ।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । उनीहरुले आफूहरुलाई उद्धार गरिदिन गुहार गरेका थिए ।

Sponsored

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

Sponsored

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।

आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *