TodayPati

एमाले नेता नेम्वाङको निधन, शीर्ष नेताहरु शिक्षण अस्पतालमा

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । बालुवाटार स्थित आफ्नै निवासमा राति १ बजेतिर बेहोस भेटिएका नेम्वाङको हृदयघातबाट निधन भएको हो ।

राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस भेटिएपछि उनलाई परिवारजनले उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राति १ः५० बजे पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो ।

Sponsored

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *