TodayPati

जनकपुरको नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

जनकपुरधामको नवजीवन हस्पिटलमा बिरामीको घुँडामै शल्यक्रियामा चरम लापरबाही भएको घटना बाहिरिएको छ । महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुडाको घाउको शल्यक्रियाको क्रममा हस्पिटलले गज (कपडा) छाडेको हो ।

गज भित्रै छाडेर टाँका लगाएपछि घाउ झन् बल्झिदा पुनः शल्यक्रिया गरेपछि गज फेला परेको छ । जनकपुरधामको बाह्रविघाको उत्तरी पूर्वकुना नजिक रहेको नवजिवन हस्पिटलमा भदौ ५ गते हस्पिटलमा मन्दीपको घाउको शल्यक्रिया गरेको थियो । साउन ४ गते आफैले चलाएको मोटरसाइकल दुर्घटना भएपछि चोट लागेर घुडामा घाउ भएको थियो ।

Sponsored

मन्दीपका अनुसार हाड जोर्नी तथा नशा विषेशज्ञले हाडटुटफुट नभएको भन्दै सर्जनसंग चेकजाँच गराउन सल्लाह दिएका थिए । साउन ३२ गते बाह्रविघा मैदानको पश्चिम दक्षिण हस्पिटल रोडमै रहेको नारायण इ.एन.टी. एण्ड प्लास्टिक सर्जरी सेन्टरमा बस्ने एमबीबीएस पढेका कन्सलटेन्टक प्लास्टिक, रिकन्सट्रक्टीभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झा समक्ष चेक गराउन पुगे । चिकित्सकले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिए । सोही दिन डा. झाले नवजीवन हस्पिटलमा भर्न हुन भने । साँझ ४ बजे शल्यक्रिया गरे । तीनदिन ड्रेसिंग पश्चात घाउमा आठ वटा टाका लगाए ।

एकसातापछि डिस्चार्ज गरे । जसको शल्यक्रिया शुल्क ४५ हजार र अस्पतालको छुट्टै ३५ हजारमध्येबाट २० हजार लिएको मन्दीपका दाई सन्तोष यादवले बताए ।
घर पुगेर ड्रेसिंग गर्न चिकित्कले सल्लाह दिएको थियो । दुईतीनदिन घरमा ड्रेसिंग गर्दा घाउबाट पीप आउन थाल्यो । शंका लागेपछि चिकित्सकलाई फोन गर्दा उठाउन छाडे ।
अर्का चिकित्सकसंग देखाएपछि भित्र केही त्रुटि भएको हुन सक्ने आशंका गरे । गत भदौ १२ गते मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । पुनः शल्यक्रिया गर्नुपर्ने चिकित्सके सुझाव दियो । अर्थोपेडिक सर्जन डाक्टर सन्दीप शर्माले शल्यक्रिया गरे । शल्यक्रियको क्रममा घाउमा भित्रै छाडिएको गज फेला परेको डा. शर्माले बताए ।

‘अन्यत्र कतै अप्रेसन गराउनु भएको थियो । तर निरन्तर घाउबाट पिप आउने गरेको भन्नु भयो । मैले चेक गरे । शंका लागेर टाकाँ खोले । अलि भित्र मात्रै केही वस्तु जस्तो लाग्यो । निकालेपछि गज थियो’ डा. शर्माले भने ‘निकालेर फेरि सरसफाई गरी टाँका लगाइदिएको छु । हाडमा केही समस्या छैन । अहिले आराम छ ।’ यस्तोमा समयमै भित्र छाडिएको वस्तु निकाल्न नसके इन्फेक्सन भएर जे पनि हुन सक्ने डा. शर्माको भनाइ छ ।

Sponsored

समयमै चेकजाँच नगराएको भए घुँडा नै काटेर हटाउन सक्ने अवस्था हुन्थ्यो भनेर चिकित्सकले भनेको पीडित मन्दीप बताउँछन् । ‘बल्ल समयमै चेकजाँच गराएर मेरो खुट्टा बाँच्यो । केहीदिन अझै चेक नगराउँदा मेरो खुट्टा गुम्थ्यो’ मन्दीपले भने ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’

घाउ भित्रै गज छाडेको घटना सुनेपछि शल्यक्रिया गरेका चिकित्सक डा. मुकुन्द झा क्लिनिक बन्दै राखेका छन् । उनको छेउका व्यवसायीहरुले केहदिनदेखि सटर बन्द नै रहेको बताए । उनको बोर्डमा लेखिएको मोबाइल नम्बर समेत डा. झा अफ गरेका छन् ।

बिरामी मन्दिपका दाई सन्तोष यादवले उपचारका नाममा ठगी तथा बिरामीको जीवनसंग खेलबाड गर्ने जस्ता अपराध गरेको भन्दै क्षतिपुर्ति तथा कारबाहीको माग गर्दै चिकित्क र हस्पिटलमाथि कारबाहीको लागि नेपाल मेडिकल एशोसिएशन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।


‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भिर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपुर्ती भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’ सन्तोषले भने ।
यता नवजीवन हस्पिटलका म्यानेजर संजिव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे ।
’डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ’ केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनु पर्थ्यो नि । अप्रेसनको डाक्टरले आफ्नो शुल्क लियो । हस्पिटलको ३२ हजार थियो । त्यसमा २० हजार मात्रै हामीले लिएका हौं ।’ उनले डाक्टर झा आफूहरुको सम्पर्कमै रहेको दावी गरे ।


जनकपुरधामको निजी हस्पिटलमा पछिल्लो समय बिरामीको उपचारमा चरम लापरबाहीको घटना सृङखलावद्ध रुपमा भइरहेको छ । जसले बिरामीको मृत्यु हुने र अन्तमा मिलापत्र गरेर ढाकछोप गर्ने प्रवृति छ । तर तीनै तहको सरकार र प्रहरी प्रशासन मुकदर्शक बसेका छन् । यसले निजि हस्पिटलमा बिरामीको असुरक्षा बढेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *