महोत्तरी फर्केर आउँदै गरेको तीर्थयात्री सवार बस बारामा दुर्घटना,७ जनाको मृत्यु, १९ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य १९ यात्रु घाइते भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस राति १ बजे दुर्घटना भएको हो ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार महिला र तीन पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुने मध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनापछि बसका चालक फरार छन् । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Sponsored