नेपालबाट भारतमा टमाटर गएपछि मूल्य घट्यो
एजेन्सी-
नयाँ दिल्ली, साउन ३० गते ।
नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख गरे पनि आयातको परिणाम भने खुलाएको छैन ।
आयात गरिएका थप टमाटरहरू ट्रान्जिटमै रहेको र यसले भारतको उत्तरी भागमा रहेका राज्यहरू, विशेष गरेर उत्तर प्रदेश, टमाटरको हाहाकार अन्त्य गर्ने बताइएको छ । योसँगै सरकारले सहुलियतको टमाटरको खुद्रा मूल्य थप घटाउँदै भारतीय रुपैयाँ ५० बनाएको छ ।
सरकारले सहुलियतको टमाटरको मात्रा बढाएसँगै टमाटरको थोक मूल्य घटेको छ यसले खुद्रा मूल्यमा पनि असर पुगेको छ । दिल्ली, राजस्थान र उत्तर प्रदेशमा ९३ हजार ८ सय किलो सहुलियतको टमाटर पठाइएको छ । एक महिना अघि मात्र भारतमा टमाटरको मूल्य २५० भारतीय रुपैयाँ प्रति केजीसम्म पुगेको थियो ।
गत जुलाईमा १५ महिना यताकै ७.४४ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको थियो । तरकारीको मूल्य ३७.३४ प्रतिशतले बढ्दा सबैभन्दा उच्च मूल्यवृद्धि टमाटरमा देखिएको थियो । राजश्व विभागले अब एनसीसीएफ र एनएफईडीलाई १५ अगस्तदेखि टमाटर ५० भारतीय रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको छ ।
Sponsored