TodayPati

आरती मृत्यु प्रकरण : धनुषाका एसपी डिएसपीमाथि किटानी जाहेरी, ६ प्रहरीमाथि हातपात भएको दावी

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

धनुषाका प्रहरी प्रमुख (एसपी) र डिएसपीसहितका प्रहरीहरुबिरुद्ध किटानी जाहेरी परेको छ । सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरिया २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् ।

गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया अरती साहकी बहिनी हुन् । नगराइनका विनोद प्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख –एसपी) विश्वराज खड्का, डिएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीबिरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।

Sponsored

त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा पुर्याएकाले हुँदै नभएको घटनको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए । त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि बहिनी मनिषाले हुलाकबाट पठाएकी छन् ।

उनीहरुलाई एड्भोकेसी फोरम नेपालबाट आधिवक्ता कुमार प्रसाद थपलिया र सूचना अधिकृत विन्देश दहालले सहयोग गर्न पुगेका थिए । मनिषासंगै उनका भाई प्रेम, हजुरबुबा रामअशिष साहसहित गएका थिए । बयानको लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा गरिएको छ ।

आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाएका थिए ।
जाहेरीमा उल्लेख ब्यहोरामा दिउँसो १२ बजे पुग्दा प्रहरीले सुरुमा आमा निर्मलाको बयान लिएका थिए । दिएको बयान र प्रहरीको लिखतमा फरक परेको भन्दै हस्ताक्षर गर्न नमान्दा प्रहरीले कुटपिट यातना दिनुको साथै दिउँसो ३ बजेदेखि राति १० बजेसम्म थुनामा राखेको जाहेरीमा उल्लेख छ ।

Sponsored

बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाई प्रेम र मामा सन्तोष प्रहरीमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जवरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा डिएसपी गौतमसहितका प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारिरीक तथा मानसिक यातना दिएको उल्लेख छ ।

दिदीको मृत्यु पश्चात विभिन्न निकायमा उजुरी जाहेरी किन दिएको, बयानमा किन हस्ताक्षर नगरेको भन्दै डिएसपी गौतमले हातले आफ्नो घाँटी न्याकेर उचारी भूँइमा बजारेको, लछारपछार गरेको, देब्रे कन्चटमा झापडले र लात्तीबुटले तल्लो पेटमा हिर्काएको, गम्भीर चोटको कारण रक्तश्राव भएको, देब्रे कान नसुन्ने गरेको जाहेरीमा मनिषाले उल्लेख गरेकी छन् । जसको त्यसै राति प्रादेशिक अस्पताल जनकपुरमा गराएको उपचारको घाउजाँच फारम, निलडामको तस्वीर पनि जाहेरमा संलग्न गरिएको छ ।

एकजना कार्की थर भएका प्रहरी इन्सपेक्टर, सई जयप्रकाश ठाकुर, नाम थाहा नभएका दुईजना महिला प्रहरी र अन्य प्रहरीहरुले आफूलाई रक्तश्राव भइरहँदा कपाल समातेर घसारेको, झापडले हिर्काउने क्रम जारी राखेको, आफ्ना भाई प्रेमलाई बुट र बन्दुकको कुनाले हिर्काउँदा अवस्था सिकिस्त भएर बान्ता गरेको, जुता निकालेर फोहोर मोजा सुँघाइएको, आमाको नाक कानमा लगाएको गहना दुईजना प्रहरीले अमानवीय ढंगले थुतेर थुनुवा कक्षमा लगेको, बुबा र मामालाई जथाभावी लातबुट र झपडले हानी थुनामा राखेर चरम यातना तथा अमानवीय व्यबहार गरेको जाहेरीमा उल्लेख छ ।

त्यस्तै राति साढे ९ बजे एसपी खड्काले आमा बुबासहित सबैलाई थुनाबाट निकालेर पार्किंग स्थलमा लगि आरतीको विषयमा विभिन्न संस्थामा किन उजरी दिएको भन्दै गालीगलौज गरेको उल्लेख छ । कुटपिट तथा यातनाको विषयमा कतै उजुरबाजुर गरे ज्यानमार्ने धम्की दिँदै एसपी खड्काले आयिन्दा आफ्नो खुट्टा आमाबुबालाई ढोग्न लगाएको, त्यस क्रममा आमाबुबा भक्कानिएर पीडाले रोएको जाहेरीमा दावी गरिएको छ ।

आफ्नो परिवारको सदस्यको शंकास्पद मृत्यु हुँदा सत्य जान्न खोज्नु, अनुसन्धानका लागि राज्यका सरोकारवाला अंग तथा संस्थाहरू गुहार्नु, सुचना माग गर्नु, उजुरी र निवेदन दिनु जस्ता सामान्य प्रयत्न जो कोहीले कानुनी अधिकारको प्रयोग गर्दा उल्टै पीडित परिवारलाई निर्ममतापूर्वक यातना दिएर प्रहरीले कसुर गरेकोले कानुन बमोजिम कारबाहीको माग दावी जाहेरीमा गरिएको छ ।

आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते मृतक धनुषा जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

६ जनाप्रहरीमाथि हातपात तथा दुव्र्यबहार भएको दावी

यता धनुषा प्रहरीले आरतीका माइत पक्षले आफूहरुमाथि कुटपिट तथा दुव्र्यवहार गरी पीडित बनाएको दावी गरेको छ । सत्यतथ्य अनुसन्धान गरी मुद्दा दाय गर्दा नै आरतीको पति र ससुरा पुर्पक्षका लागि जेल चलान भएको एसपी खड्काको तर्क छ ।
‘हामी आरतीको न्यायकै लागि लडिरहेका छौं । आज सत्यतथ्य अनुसन्धान गर्दा नै अदालतको आदेशमा पति र ससुरा जेल चलान भएका छन् । हामी आफ्नो दायित्व कर्तव्यबाट अलित पनि विमुख भएका छैनौ’ एसपी खड्काले भने ।

उनले आरतीको माइत पक्षले नाटकीय ढंगबाट दबाब सृजना गर्दा आफूहरु अन्यायमा अन्यामा परेके बताए । उनका अनुसार जेठ ३२ गते बयानको क्रममा मोबाइलबाट फोटो भिडियो लिख खोजेको र नलिन आग्रह गर्दा उनीहरुले नमानेपछि रोक्ने प्रयास गर्दा प्रहरीमाथि कुटपिट तथा ज्यादती गरेको तर्क एसपी खड्काको छ ।

जुन घटनामा आफ्ना ६ जनाप्रहरीमाथि आरतीको परिवारले कुटपिट तथा दुव्र्यबहार र कार्यालयमा तोडफोड जस्ता उच्सृंखल गतिविधि गरेको दावी छ । प्रहरी इन्सपेक्टर दिनेश अधिकारी, नवराज खड्का र विक्रम साह, सई जय प्रकाश यादव, प्रहरी सहायक हवल्दार सुस्मिता राई, महिला प्रहरी गोमा थापा, डिएसपी गौतमका सुरक्षा गार्ड हनुमान राई माथि हातपात तथा दुव्र्यबहार भएको खड्काले बताए । उनले कुनै प्रहरीले उनीहरुमाथि कुटपिट नगरेको, महिलामाथि पुरुष प्रहरी जिउमा समेत नछोएको दावी गरे ।

मृतक परिवारलाई थप पीडामा के पार्नु भनेर उनीहरुमाथि मुद्दा नचलाई छाडिएको एसपी खड्काको तर्क छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *