देशका यी स्थानहरुमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएका मौसमविद् विनु महर्जनले जानकारी दिए । उनका अनुसार राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक÷दुई ठाउँमा ठूलो पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले भारी वर्षा, मेघ–गर्जन÷चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
Sponsored