कोशी अस्पतालबाट आज बिहान थप ८ जना कोरोना संक्रमित डिस्चार्ज
टुडेपाटी-
विराटनगर, वैशाख २६ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका मध्ये ८ जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।
उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । डिस्चार्ज हुनेमा ७ नेपाली र एक जना भारतीय नागरिक छन् ।
उनीहरु सबै उदयपुरमा फेला परेका संक्रमित हुन् । ९ वैशाखमा उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो ।
अस्पताल भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा बिहीबार ८ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि गएको बुधबार ६ जना भारतीय नागरिक पनि कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पतालमा उपचाररत छन् ।
शुक्रबार डिस्चार्ज भएका ८ जनासँगै भर्ना भएका ७ जनाको रिपोर्ट भने पोजिटिभ आएको छ। रिपोर्ट पोजिटिभ आएकालाई भने चिकित्सकको निगरानीमा थप उपचार जारी राखिने कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले बताइन् ।
Sponsored