मधेश प्रदेशको अस्पताल आफै विरामी अवस्थामा छ : स्वास्थ्यमन्त्री सिंह
टुडेपाटी–
जनकपुरधाम, असार ८ गते ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले सरकारी अस्पतालहरु नै बिरामी अवस्थामा रहेको बताएका छन् ।
जिल्ला तहमा रहेको प्रादेशिक अस्पतालमा लगानीअनुसार सेवा सर्वसाधारणले पाउन नसकेको भन्दै मन्त्री सिंहले भने, ‘प्रदेशमा पहिले अस्पतालको उपचार अनिमात्रै बिरामीको उपचार हुने अवस्था छ ।’
शुक्रबार जनकपुरधाममा वाग्मती सेवा समाजले आयोजना गरेको समीक्षा कार्यक्रममा मन्त्री सिंहले सबै स्रोत साधन भएका अस्पतालसमेत चुस्त व्यवस्थापन नहुँदा भद्रगोल भएको बताए ।
उनले भने, ‘अस्पतालमा चिकित्सक भए उपकरण छैन । उपकरण र चिकित्सक भएको अस्पतामा भौतिक संरचना छैन । सबै साधन श्रोत भएको अस्पतालमा व्यवस्थापन अभावमा भद्रगोल छ ।’
प्रदेशको सरकारी अस्पतालहरुमा स्वास्थ्यकर्मी, उपकरण, भौतिक संरचना र व्यवस्थापनबीच तालमेल नमिलेको उनको भनाइ थियो ।
Sponsored
मधेश प्रदेशको स्वस्थ्य सेवा सुधारका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने मन्त्री सिंहले बताए ।
उनले भने, ‘अस्पतालको सेवा सुधार्न राजनीति दल, स्वास्थ्यकर्मी र कर्मचारीहरुबीचको द्वन्द्व सुल्झाउनु पर्छ । एक अर्काको गल्ती औंल्याएर समस्या समधान हुँदैन । सबै पक्ष एकजुट भएर अगाडि बढेमात्र समस्या समाधान हुन्छ ।’